नेपालको ऊर्जा, पूर्वाधार र पुनर्स्थापनामा भारतको ठूलो लगानी घोषणा

भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि भारतले आर्थिक सहायता उपलब्ध गराउन लागेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने उल्लेख छ। ‘जसमा नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि ५६ अर्ब अनुदान सहायता र ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि १ खर्ब ८४ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण समावेश छ,’ विज्ञप्तिमा भनिएको छ।’ प्रधानमन्त्री शाह दुईदिने भ्रमण पूरा गरेर सोमबार साँझ नै काठमाडौं फर्किसकेका छन्।

frontline

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने बताएका थिए। ‘अगस्ट महिनामा नेपालमा आएको भीषण बाढीका कारण भएको जनक्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं। 

र आज, नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ मजबुती प्रदान गर्नका लागि हामी २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहकार्य प्याकेजको घोषणा गर्दछौं,’ मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसहितको संयुक्त पत्रकार सम्मेलनमा भने, ‘प्रभावित परिवारहरूको जीवन पुनः लयमा फर्कियोस्, नयाँ अवसरहरू सिर्जना होऊन् र भविष्यका विपद्हरूसँग जुध्न नेपालको क्षमता अझ बलियो होस् भन्ने हाम्रो संकल्प रहनेछ।’

अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणमा खर्च हुनेछ भने ऋण ऊर्जा क्षेत्रका परियोजनामा परिचालन गरिनेछ। अर्थविद् चन्द्रमणि अधिकारीले भने भारतसँग भएका सहमति र प्रतिबद्धताको वास्तविक उपलब्धि कार्यान्वयनबाट मात्रै मूल्यांकन गर्न सकिने बताएका छन्। ‘विगतमा पनि विभिन्न विषयमा निर्देशन दिने, समिति बनाउने र सहमति गर्ने काम हुँदै आएका छन्,’ अधिकारीले भने, ‘ती व्यवहारमा कति कार्यान्वयन भए भन्ने मुख्य प्रश्न अहिले पनि छ।’ 

उनका अनुसार ठूलो रकम घोषणा हुनु सकारात्मक भए पनि त्यसको उपयोग नेपालको खर्च गर्ने क्षमता र परियोजना कार्यान्वयन गर्ने सामथ्र्यमा निर्भर रहन्छ। विगतमा भूकम्पका बेला घोषणा गरिएको सहयोगसमेत पूर्ण रूपमा प्राप्त हुन नसकेको उदाहरण दिँदै उनले परियोजनामा आधारित सहयोग भएकाले रकम परिचालन गर्न सक्ने क्षमतामा ध्यान दिनुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भने भारत भ्रमणलाई सफल भएको बताएका छन्। ‘भ्रमणले दुई देशबीचको साझा आर्थिक आकांक्षा पूरा गर्न सहजता प्रदान गरेको छ,’ उनी भन्छन्, ‘दुई देशका प्रधानमन्त्रीबीच नेपालको आर्थिक समृद्धिबारे भएको सौहार्दपूर्ण छलफलले निजी क्षेत्रलाई आशावादी बनाएको छ।’ 

बन्दरगाह प्रयोगको विषयमा नेपालले गुजरातका धाम्रा र मुन्द्रा पोर्टको विकल्प मागेकोमा भारतले पाराद्वीप र काण्डला गरी दुई विकल्प दिएको उनले बताए। कनेक्टिभिटीका विषयमा भएका छलफललाई पनि उनले भ्रमणको सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। भैरहवाको बाटो हुँदै अन्तर्राष्ट्रिय विमान आवागमन खुल्ने विषयले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ अवसर सिर्जना गर्ने उनले बताए। 

जलविद्युत् र ऊर्जा पूर्वाधारमा सहकार्य

भ्रमणका क्रममा ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार र विद्युत् व्यापार विस्तारलाई विशेष प्राथमिकता दिइएको छ। दुवै देशले भारतीय कम्पनीको सहभागितामा नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्ने सहमति गरेका छन्।

६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री शाह र मोदीले भर्चुअल माध्यमबाट संयुक्त शिलान्यास गरेका छन्। करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। 

बुट मोडलमा निर्माण हुने आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क प्राप्त गर्नेछ भने २५ वर्षपछि आयोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ। त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने काम तीव्र बनाउन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

नेपालको इनरुवा–भारतको न्यु पूर्णिया र नेपालको दोधारा–भारतको बरेलीबीच उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम कम्पनी गठन गर्ने प्रक्रियामा पनि प्रगति भएको छ।

पेट्रोलियम पाइपलाइन विस्तार

नेपाल–भारतबीच पेट्रोलियम पूर्वाधार विस्तारका विषयमा पनि महत्वपूर्ण सहमति भएको छ। दुवै प्रधानमन्त्रीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरेका छन्। नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ। साथै, भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण शीघ्र सुरु गर्ने सहमति भएको छ। 

बन्दरगाह र पारवहन सुविधा विस्तार

नेपालको वैदेशिक व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दिनदयाल (काण्डला) बन्दरगाह हुँदै पारवहन सुविधा उपलब्ध गराउने भएको छ। आवश्यक पूर्वाधार निर्माणपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिनेछ। यसबाट तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालको पारवहन विकल्प बढ्नुका साथै ढुवानी लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी सडक, पुल, सीमापार रेलमार्ग र एकीकृत जाँच चौकीलगायत सीमा पूर्वाधार विकासमा सहकार्य गर्ने सहमति भएको छ। कञ्चनपुरको दोधारा चाँदनी–वनबासा क्षेत्रमा एकीकृत जाँच चौकी निर्माणको प्रक्रिया पनि अघि बढाइनेछ।

रेलमार्ग र हवाई सम्पर्क विस्तार

प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षणलाई अन्तिम रूप दिइएको छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्ने सहमति जनाएको छ। यसैगरी अयोध्या–जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा उद्घाटन गरिएको छ। हवाई सम्पर्क विस्तारतर्फ काठमाडौं–भैरहवा–लखनउको विद्यमान एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। यसका लागि आवश्यक प्राविधिक परामर्श र कार्यविधि तय गरिनेछ।

चितवनमा कृषि–औद्योगिक पार्क

भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने भएको छ। यसबाट कृषि उत्पादनको प्रशोधन र औद्योगिकीकरण  सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी भारतीय प्रविधि संस्थानको अपतटीय क्याम्पस स्थापना गर्ने सहमति भएको छ। दुवै देशले स्टार्टअप, डिजिटल सेवा, वित्तीय सम्पर्क तथा प्रविधिको क्षेत्रमा सहकार्य  गर्ने प्रतिबद्धता जनाएका छन्।

बैंकिङ, दूरसञ्चार र अन्य क्षेत्रमा सहकार्य

नेपाल र भारतमा बसोबास गर्ने एकअर्का देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवा सहज रूपमा उपलब्ध गराउन दुवै पक्षले सहजीकरण गर्ने सहमति गरेका छन्।त्यसैगरी, दिगो सहरी विकास, स्वास्थ्य, पशुपालन, मत्स्य विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीलगायत क्षेत्रमा सहकार्य गर्न आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।


‘नेपालमा निर्धक्क लगानी गर्नुस्,’

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता सम्भावनायुक्त क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा भइरहेको लगानी विस्तार गर्न आग्रह गरेका हुन्। ‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’

अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धि गर्न सरकारले कानुनी सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको पनि बताए। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजाने प्रक्रियालाई कानुनी रूपमा सहज बनाउन सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो। 

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी व्यवसायीका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी, व्यवसायी तथा प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here