राष्ट्रिय भेलामा ओलीले राखे सुरक्षा चासो, शतर्क रहन स्वयंसेवकलाई निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन आज सम्बोधन गर्दै उजले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे ।
ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए । पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए । उनले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउन पनि आग्रह गरे ।
परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिए । भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलालाई अनुशासित कार्यक्रमका रूपमा सम्पन्न गर्नुपर्ने बताए ।






प्रतिक्रिया दिनुहोस्