जनता समाजवादी पार्टी त्यागेका पालिका वडाध्यक्षसहित पाँचजना प्रतिनिधिको पद रिक्त
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन बनेको छ। वडाध्यक्षसहित वडाका सबै जनप्रतिनिधिको पद रिक्त भएपछि बिहीबारदेखि वडा कार्यालयबाट हुने सेवा प्रवाह तथा दैनिक कामकाज प्रभावित बनेको स्थानीयले जानकारी दिएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएका वडाध्यक्ष मुगाधन राईसहित पाँचजनाको पद निर्वाचन आयोगको निर्णयपछि रिक्त भएको हो। वडाध्यक्ष राई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि पार्टीले दल त्याग गरेको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। आयोगले मंसिर २ गते गरेको निर्णयअनुसार वडाध्यक्ष राईसहित वडा सदस्य कल्पना राई, दलित महिला सदस्य गिता विक, वडा सदस्य रामधन राई र शहरमनी राईको पद स्वतः रिक्त भएको निर्णय सार्वजनिक गरेको छ।
वडाका सबै जनप्रतिनिधिको पद रिक्त भएपछि स्थानीयले वडा कार्यालयबाट पाउँदै आएका नागरिकता सिफारिस,नाता प्रमाणितलगायतका दैनिक प्रशासनिक सेवा तथा विकास निर्माणसम्बन्धी काम कसरी सञ्चालन गर्ने भन्ने अन्योल सिर्जना भएको छ। जनप्रतिनिधि नहुँदा वडाको कामकाज प्रभावित हुन थालेको स्थानीयले गुनासो गरेका छन्।
जनप्रतिनिधिविहीन बनेको वडामा दैनिक कामकाज कसरी सञ्चालन गर्ने भन्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग राय माग गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए। मन्त्रालयबाट प्राप्त हुने राय र कानुनी व्यवस्थाअनुसार वडा कार्यालयको सेवा प्रवाहलाई निरन्तरता दिइने उनको भनाइ छ।
पार्टी परिवर्तनका कारण पाथेका मात्रै होइन, खोटाङका अन्य स्थानीय तहका जनप्रतिनिधिको पदसमेत रिक्त भएको छ। जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पद पनि रिक्त भएको छ। जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेपाल कम्युनिष्ट पार्टीमा,गाउँपालिका उपाध्यक्ष गुरुराज राई श्रम संस्कृति पार्टीमा र नगरकार्यपालिका सदस्य दर्नाल अशोक राई नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
पाथेकाका वडा सदस्य कल्पना राई र गिता विक तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भए पनि स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका क्रममा जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट उम्मेदवार बनेका थिए। त्यस्तै,वडा सदस्य रामधन राई तत्कालीन नेकपा एकीकृत समाजवादीबाट भए पनि जनता समाजवादी पार्टीकै चुनाव चिह्नबाट निर्वाचित भएका थिए। उनीहरू पनि पार्टी त्यागसम्बन्धी निर्णयमा परेको बताइएको छ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी गराएपछि मंसिर २ गतेको निर्णयबाट जिल्ला समन्वय समितिका प्रमुख,गाउँपालिका उपाध्यक्ष,वडाध्यक्ष,वडा सदस्य तथा नगरकार्यपालिका सदस्य गरी आठ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्