सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार
३ मंसिर, काठमाडौं । वैशाख २०२९ मा राजा वीरेन्द्रले उद्घाटन गरेको सिद्धार्थ राजमार्ग आधा शताब्दीयता पश्चिम नेपालको ‘लाइफलाइन’ बनेको छ । यो राजमार्गले पश्चिम नेपालको पोखरा लगायत क्षेत्रलाई भारतीय नाकासँग जोड्छ । यसले यस भेगको अर्थतन्त्र मात्र होइन, पर्यटनमा समेत ठूलो सहयोग पुर्याएको छ ।
तर, बनेको आधा शताब्दीसम्म पनि यो राजमार्गको स्वरूप फेरिएको छैन, उही पुरानै अवस्थामा छ । कतैकतै दुई लेन, कतै एक मात्रै । तर, उमेरका कारण पनि जीर्ण बनिसकेको छ ।
राजमार्ग विस्तारको जमर्को पटक–पटक गरियो, कैयौँ अध्ययन समेत भए । तर, त्यसले मूर्तरूप पाउन सकेन ।
त्यसबेला भारत सरकारको सहयोगमा निर्माण भएको सिद्धार्थ राजमार्गलाई एक्सप्रेस वे बनाउन नेपाल सरकारले फेरि पनि भारतलाई नै अनुरोध गर्दैछ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा भैरहवा–पोखरा एक्सप्रेस वे बनाउन सरकारले अनुदानका लागि अनुरोध गरिसकेको छ । त्यसबारे हालसम्म भारतको जवाफ प्राप्त नभएको सरकारी स्रोतले बतायो ।
‘प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा २ खर्ब भारु आर्थिक सहयोगको प्रस्ताव गरिएको छ, त्यसमध्ये ५० अर्ब भारु अनुदान यो आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ,’ सरकारी स्रोतले अनलाइनखबरसँग भन्यो ।
सरकारले यो राजमार्ग स्तरोन्नति उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । नेपाल–भारत सीमा बेलहिया (भैरहवा) बाट पोखरा जोड्ने यो राजमार्ग १ सय ८२ किलोमिटर लम्बाइको छ । यसमध्ये बुटवलसम्मको सडक विस्तार भइसकेको छ ।
बुटवल–पोखरा खण्ड जीर्ण छ । कतैकतै ‘सिंगल लेन’ मात्र छ भने उकालो–ओरालो संरचना, साँघुरा र तिखा मोडहरूका कारण सवारीसाधनको गति अपेक्षित बढ्न सकेको छैन । साथै, बारम्बार जाने पहिरोले यसले राजमार्ग असुरक्षित समेत बनाएको छ ।
भारतीय पर्यटकलाई मुक्तिनाथसम्म लैजाने सबैभन्दा छोटो राजमार्ग र नेपाल–भारत सीमासँग जोडिएका कारण समेत सिद्धार्थ राजमार्ग अत्याधुनिक सडक संरचनाका रूपमा स्तरोन्नति गर्ने योजना रहेको सडक विभागका महानिर्देशक डा. विजय जैसी बताउँछन् ।
अहिले यो राजमार्ग स्तरोन्नतिका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ । उक्त अध्ययन प्रतिवेदन प्राप्त भएपछि लगानी मोडालिटी, लागत तथा अन्य प्राविधिक पक्ष स्पष्ट हुने जैसीले जानकारी दिए ।
एआईआईबी अध्ययन सम्पन्न भएपछि यो राजमार्ग कस्तो स्वरूपमा बन्ने भन्ने स्पष्ट हुने उनले जानकारी दिए । अहिले बुटवल–पोखरा १ सय ५७ किलोमिटर लम्बाइ छ । जसलाई १ सय देखि १ सय १० किलोमिटरमा झार्ने उद्देश्य सहित अहिले अध्ययन भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्