एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा गत सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।
लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको हो। आठ टोली सहभागी लिगबाट पोखरा र कर्णालीसँगै जनकपुर बोल्ट्स र विराटनगर किंग्स अन्तिम चारबाट बाहिरिएका छन्।
पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्।
लिग चरणको पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने भएको हो। लिग चरणमा लुम्बिनी काठमाडौँ गोखार्जसँग ३६ रनले पराजित भएको थियो।
त्यस्तै, पाँच खेलमा जित र दुई खेलमा हार भोगेको सुदूरपश्चिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्ने भएको हो।
पहिलो क्वालिफायर खेल मंसिर १ गते मंगलबार हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ।
पराजित हुने टोलीले भने फाइनल पुग्न दोस्रो मौका पाउनेछ। त्यसका लागि दोस्रो क्वालिफायर खेल्नेछ।
प्लेअफमा पुगेका अन्य दुई टोलीमा काठमाडौं गोर्खाज र चितवन राइनोज हुन्। काठमाडौँ चार खेलमा जित र तीन खेलमा हार भोग्दै आठ अंकमा तालिकाको तेस्रो र तीन खेलमा जित, तीन खेलमा हार र एक खेलमा अंक बाँड्दै सात अंक बनाएको चितवन तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेल्ने भएका हुन्।
एलिमिनेटर खेल बुधबार हुनेछ। एलिमिनेटरमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली भने बाहिरिनेछ।
एलिमिनेटरमा जित निकाल्ने टोलीले लुम्बिनी र सुदूरपश्चिमबीचको पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ।
पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर खेलको विजेता उपाधिका लागि भिड्नेछन्। एनपीएलको तेस्रो सिजनको फाइनल खेल शनिबार हुनेछ।






प्रतिक्रिया दिनुहोस्