होल्डिङ सेन्टरबाटै बाढीपीडितलाई नागरिकताको प्रतिलिपि वितरण
काठ्माण्डौँ : भोटेकोशी नदीमा आएको बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढीपीडितलाई काठमाडौँ र नुवाकोटस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई राहत, पुनःस्थापना तथा अन्य प्रशासनिक काममा सहजता पुर्याउने उद्देश्यले होल्डिङ सेन्टरमै पुगेर सेवा दिन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय र गोसाइँकुण्ड गाउँपालिकाको पहलमा नागरिकताको प्रतिलिपिका लागि आवेदन सङ्कलन गर्ने, प्रमाणीकरण तथा प्रिन्ट गर्ने र पुनः होल्डिङ सेन्टरमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए ।
त्यस्तै, नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई सेवा दिन आइतबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेसहितको टोली खटिएको छ । टोलीले पीडितहरूको अनुसूची टिपोट गर्नुका साथै आवश्यक कागजात मिलाएर त्यहीँबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था मिलाएको पाण्डेले बताए ।
गाउँपालिकाका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको छ। प्रभावित नागरिकको आवश्यकताअनुसार अन्य प्रशासनिक सेवा पनि क्रमशः उपलब्ध गराइनेछ ।






प्रतिक्रिया दिनुहोस्