बाढी प्रभावित नुवाकोट र रसुवाका विद्यार्थीका लागि ५ हजार सौर्य बत्ती वितरण
फक्सकन इन्डस्ट्रियल इन्टरनेटको सहयोगमा चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले ५४ विद्यालयमार्फत सौर्य बत्ती वितरण नुवाकोट/रसुवा।
बाढीबाट प्रभावित नुवाकोट र रसुवा जिल्लाका विद्यार्थी तथा स्थानीयलाई ५ हजार थान सौर्य बत्ती प्रदान गरिएको छ।
बाढी प्रभावित क्षेत्रका बालबालिकाको अध्ययनमा उज्यालो थप्ने उद्देश्यले चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले फक्सकन इन्डस्ट्रियल इन्टरनेटको सहयोगमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत दुवै जिल्लाका ५४ विद्यालयमार्फत सौर्य बत्ती वितरण गरिएको हो।
वितरण गरिएका कुल ५ हजार थान सौर्य बत्तीमध्ये नुवाकोटमा २ हजार ९६ र रसुवामा २ हजार ९०४ वटा सहयोग गरिएको छ।
नुवाकोटको सूर्यगढी गाउँपालिकामा १ हजार १०० र विदुर नगरपालिकामा ९९६ थान सौर्य बत्ती वितरण गरिएको हो।
त्यसैगरी रसुवाको नौकुण्ड गाउँपालिकामा १ हजार ५३४ र कालिका गाउँपालिकामा १ हजार ३७० थान सौर्य बत्ती प्रदान गरिएको छ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीय सरोकारवालासँगको समन्वयमा केही दिनअघि सौर्य बत्ती वितरण गरिएको हो।
प्राकृतिक विपद्का कारण प्रभावित तथा विद्युत् सेवाको पहुँच सीमित भएका परिवारका बालबालिकालाई साँझको समयमा अध्ययन गर्न कठिनाइ हुने गरेको छ। यस्तो अवस्थामा सौर्य बत्तीले विद्यार्थीलाई गृहकार्य गर्न, पाठ दोहोर्याउन र विद्यालयको तयारी गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
साथै घरमा विद्युत् सेवा अवरुद्ध भएका वा पर्याप्त प्रकाशको व्यवस्था नभएका विद्यार्थीलाई पनि यसबाट लाभ पुग्ने विश्वास गरिएको छ।






प्रतिक्रिया दिनुहोस्