सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताए ।

frontline

प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिमार्फत त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । यसका लागि भूविज्ञानको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्यांकनलाई प्राथमिकता दिनुपर्ने अर्यालले बताए । विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीतिनिर्माणमार्फत स्वच्छ वातावरणको हक तथा प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी संवैधानिक प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘हिमालय हाम्रो प्राकृतिक गौरव मात्र होइन, पृथ्वीको विकासक्रम, भौगर्भिक गतिविधि र जलवायु परिवर्तनको अध्ययनका लागि विश्वकै महत्त्वपूर्ण प्राकृतिक प्रयोगशाला पनि हो,’ उनले भने, ‘प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ ।’

संसद्, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र वैज्ञानिक समुदायबीच सहकार्य विस्तार गर्नुपर्ने बताउँदै अर्यालले वैज्ञानिक निष्कर्षलाई कानुन, सार्वजनिक नीति र विकास योजनासँग जोड्नु संसद्को पनि महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे ।

उनले विपद् आउनुअघि नै जोखिम पहिचान र न्यूनीकरण गर्ने प्रणाली विकास गर्नुपर्ने, प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोग गर्नुपर्ने र युवा वैज्ञानिकको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए ।

हिमालय क्षेत्रको भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले दक्षिण एसियासहित विश्वमै प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान तथा वैज्ञानिक ज्ञानको प्रसारमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै अर्यालले समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनको विषय ‘उत्थानशील, दिगो र स्रोत–सुरक्षित विश्वका लागि हिमालय क्षेत्रको भूविज्ञानको पुनर्संरचना’ रहेको छ । सम्मेलनबाट प्राप्त वैज्ञानिक निष्कर्ष र सुझाव राष्ट्रिय नीति, विकास योजना तथा स्थानीय तहका व्यावहारिक कार्यमा समेटिने विश्वास पनि अर्यालले व्यक्त गरे ।

डोलप्रसाद अर्यालहिमालय

यो खबर पढे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here