सर्लाहीका १६ सय भन्दा बढी घर बाढीको डुबानमा

सर्लाही । राजेन्द्र बिश्वकर्मा, सर्लाही। दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।


लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका – ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका – ७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट्टा गाउँपालिका – ५ पडरियामा पनि बाढी पस्दा २० वटा माटोका कच्ची घर पूर्ण रूपमा भत्किएका छन्।

frontline


उता हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा पानीको उचित निकास नहुँदा ४० घरमा बाढी पस्न पुगेको छ। बरहथवा नगरपालिका – ७ डोमटोलमा सोती खोलाको पानी पस्दा करिब १५ घर डुबानमा परेका छन्।
यस्तै, कौडेना गाउँपालिका–३ र ५ मा लखनदेही खोलाको पानी पस्दा ४० घर डुबानमा परेका छन् भने कविलासी नगरपालिका – ८ अगर्वामा झिम खोलाले १४ घर प्रभावित बनाएको छ। गोडैता नगरपालिकामा समेत कयौ घरमा पानि पसेको छ।
प्रहरीका अनुसार हालसम्म ठूलो जनधनको क्षति नभए पनि स्थानीयहरू सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको छ। कौडेना गाउँपालिका – ३ स्थित लखनदेही खोलामा आएको बाढीले हुलाकी सडक बगाउँदा जिल्लाको पश्चिम क्षेत्र र सदरमुकाम मलंगवासँगको सम्बन्धविच्छेद भएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here