देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। साथै न्यूनचापीय क्षेत्र बंगालको खाडीको मध्य-पश्चिम भूभाग आसपास छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै ‘बलियो न्यूनचापीय क्षेत्र’) का रूपमा पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।
जसको प्रभावले नेपालमा असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा तथा हिमपात गराउने सम्भावना रहेको जानकारी मौसम महाशाखाले सोमबार नै विशेष बुलेटिन जारी गरेर दिइसकेको छ।
यतिबेला भने देशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको आज (मंगलबार) बिहान ८ बजे अद्यावधिक मौसम बुलेटिनमा उल्लेख छ।
आजका लागि यस्तो छ प्रक्षेपण-
दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल तथा तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा, मधेस प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : कोसी, मधेस र बागमती प्रदेशलगायत देशका हिमाली भेग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।






प्रतिक्रिया दिनुहोस्