“लैङ्गिक असन्तुलनको घेरामा नेपाली समाज : पीडित त दुबै छन्”
✍️ सपना अधिकारी
अहिलेको नेपाली समाजमा पुरुष र महिला दुवै पीडित छन्।
नेपाली समाजमा लैङ्गिक असन्तुलनका कारण महिलाले मात्र नभई पुरुषले पनि थुप्रै प्रकारका पीडा भोगिरहेका छन्।
सबै पुरुष खराब हुँदैनन्, र सबै महिला पनि खराब हुँदैनन्। तर, समाजमा एउटा गलत धारणाले गहिरो प्रभाव पारेको छ—जसले गर्दा महिलालाई मात्र पीडित र पुरुषलाई मात्र दोषी ठानिन्छ। यो धारणा पूर्णत न्यायिक छैन।
पुरुषको पीडा — बेवास्तामा परेको सत्य
कतिपय पुरुषहरू घरेलु हिंसा, मानसिक शोषण, सामाजिक दबाब, र झुठा आरोपहरूको शिकार बनेका छन्। तर, उनीहरूको आवाज उठाउनको लागि न त उचित प्लेटफर्म छ, न त कानुनी संरक्षण सहज छ। “पुरुष त सहन्छन्, बोल्दैनन्” भन्ने सोचले उनीहरूको पीडालाई चुपचाप दवाएको छ।
महिलाको पीडा — अझै पनि कायम अन्याय
अर्कोतर्फ, महिलाहरू अझै पनि यौन शोषण, घरेलु हिंसा, छुवाछूत, गरिबी, शिक्षा अभाव आदि समस्याबाट गुज्रिरहेका छन्। पुरुषहरू खाडी लगायतका मुलुकमा ज्यानको बाजी लगाएर परिवारको पेट पालिरहेका छन् भने, कतिपय महिला घरमै मानसिक शोषण सहिरहेका हुन्छन्।
समस्या चरित्रमा हो, लिङ्गमा होइन
सही र गलत चरित्र महिला र पुरुष दुवैमा हुन्छ। समस्या लिङ्गमा नभएर सोचमा, संस्कारमा, र कमजोर न्यायिक प्रणालीमा छ।
समाजले पुरुष र महिलालाई एउटै दृष्टिकोणले हेर्न सिक्नुपर्छ। पीडित चाहे जोसुकै होस्, न्यायको अधिकार उसैको हुनुपर्छ। दोषी चाहे जो भए पनि, कानुनी कारबाही उसैलाई हुनुपर्छ। समानता भनेको केवल अधिकारको होइन, कर्तव्य र उत्तरदायित्वको पनि कुरा हो।






प्रतिक्रिया दिनुहोस्