युवा दिवसको यथार्थ : गलामा झन्डा, मनमा देश, भविष्य खोज्दै विदेश

समाचार सारांश

  • अन्तर्राष्ट्रिय युवा दिवस अगस्ट १२ मा मनाइन्छ, जसको नारा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ रहेको छ।
  • युवा दिवस मनाइरहँदा, हजारौं युवा अवसरको अभावमा विदेशिन बाध्य छन्, जसले गर्दा परिवार र साथीभाइलाई छोड्नुपरेको छ।
  • गत आर्थिक वर्षमा ८ लाख ३९ हजार २६६ युवाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिए, जुन हालसम्मकै उच्च संख्या हो।

काठमाडौँ । आज अगस्ट १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्र सङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व युवा सम्मेलन आयोजना गरी सो सम्मेलनबाट आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनुका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदे लिसवन घोषणापत्र समेत जारी गरेको थियो । 

त्यसपछि राष्ट्र सङ्घको आहानमा सन् २००० बाट विश्वभर हरेक वर्षको अगस्ट १२ का दिन युवा सशक्तीकरण, जागरण र बहस गर्ने महत्त्वपूर्ण दिनको रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको छ ।

frontline

यसै सन्दर्भमा नेपालमा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा यो दिवस मनाइने भएको छ । 

तर देशको राजनीतिक अवस्थाले गर्दा दैनिक हजारौँ युवाहरू बिदेसिन बाध्य भएका छन् । गलामा नेपालको राष्ट्रिय झन्डा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्नका लागि गोरखा पालुङटारबाट आएका सञ्जय नहर्कीले देशमा अवसर नपाएकोले घर, परिवार साथीभाइ छोडेर विदेशिनु परेको  गुनासो पोखे । 

मकवानपुरका लिलाराज सुनार आफ्नो छोरा २५ वर्षीय राकेश सुनारलाई बिदाइका हात हल्लाउँदै मन भारी बनाइरहेका थिए ।

उनले भने–  मैले मेरो छोरालाई अर्काको दास बनाउन पठाउँदै छु राज्यले देशमा उद्योग, कलकारखाना खोली युवाहरूलाई देशमै बस्ने वातावरणको सृजना गर्न नसक्दा यो अवस्था आयो । 

रामेछाप लिखुतामाकोशीका राजीव कार्की वैदेशिक रोजगारीका लागि साउदी जाँदै गर्दा आफ्ना दुई सन्तान र श्रीमतीसँग भाबुक हुँदै विदाई हुँदै थिए । छोराछोरी, श्रीमती, घरपरिवार छोडेर बिदेसिनुको बाध्यता सरकारले सही नीति, देशमा रोजगारीको अवस्था सृजना नगरेकै कारण आएको उनले बताए । 

गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जान ८ लाख ३९ हजार २६६ युवाले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।

प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।

वैदेशिक रोजगारीमा जाने यो हालसम्मकै उच्च हो । गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत छन् । तस्बिर : सरोज शाही,नेपाल फोटो लाइब्रेरी

#युवा दिवस #वैदेशिक रोजगारी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here