मुग्लिन–पोखरा सडक : पटक–पटक म्याद थप्दा पनि समयमा नसकिने निश्चित
समाचार सारांश
- मुग्लिन-पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ, जसमा पूर्वी खण्डको म्याद सकिन १० दिन बाँकी छ।
- सडक विस्तार दुई खण्डमा विभाजित छ, जसमा पूर्वी खण्डमा ८५% र पश्चिम खण्डमा ५४% मात्र भौतिक प्रगति भएको छ।
- एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तार भइरहेको छ, तर निर्माण सुस्त गतिमा चलेका कारण समयमै नसकिने देखिएको छ।
काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेकोमा पूर्वी खण्डको म्याद सकिन १० दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६ महिना बाँकी रहँदा ५४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
निर्माणको सुस्त गतिका कारण दुवै खण्ड तोकिएको समयमा नसकिने आयोजनाले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेन सडकलाई चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार गरिँदैछ । दुई खण्डमा विभाजित यस आयोजनाको निर्माण कम्पनी र लागत पनि फरक–फरक छन् ।
पूर्वी खण्डको म्याद सकियो, काम सकिएन
मुग्लिन–पोखरा सडकको पूर्वी खण्डको म्याद लगभग सकिएको छ । अब १० दिन मात्र बाँकी छ । २०८१ वैशाखभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको यो खण्डमा तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । यसको अन्तिम म्याद यही असार २९ गतेसम्म छ ।
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.११ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले यस खण्डको कालोपत्रे काम करिब सम्पन्न भइसकेको बताए ।
‘चार लेनको मुख्य सडकको कालोपत्र सकिएको छ । पहिलो र दोस्रो तहको कालोपत्रे गरिएको हो,’ उनले भने, ‘बाहिरबाट हेर्दा सम्पन्न भएजस्तो देखिए पनि अन्य केही काम बाँकी छन् । मादी नदीको पुल र त्यसको करिब ५–६ सय मिटर सडकखण्डको काम बाँकी छ ।’
यस सडक खण्डमा निर्माण गर्नुपर्ने १८ वटा मोटरेबल पुलमध्ये १७ वटा निर्माण सम्पन्न भएका छन् भने सयौँ कल्भर्ट निर्माण भएका छन् । मादी नदीको पुल भने छुट्टै ठेकेदारले निर्माण गरिरहेको छ, जुन अहिले निर्माणकै चरणमा छ ।
उनका अनुसार यस सडक खण्डमा सडक सुरक्षासम्बन्धी कामहरू, जस्तैः रोड मार्किङ, ट्राफिक सङ्केत र सेफ्टी ब्यारियर जडान भइरहेका छन् । ‘यस्तै मुख्य सडकबाट दायाँ–बायाँ छुट्ने सहायक सडकहरू (एक्सेस रोड) मा गर्नुपर्ने कामहरू पनि अहिले भइरहेका छन्,’ पाण्डेले भने ।
इन्जिनियर पाण्डेका अनुसार मादी खोलामा पुल निर्माणको क्रममा रहेकाले सो छेउछाउको केही सडक कालोपत्रे गर्न बाँकी छ । कुल ५–७ सय मिटर सडक कालोपत्रे गर्न बाँकी भएको उनी बताउँछन् ।
यस सडक खण्डमा निर्माण गर्नुपर्ने १८ वटा मोटरेबल पुलमध्ये १७ वटा निर्माण सम्पन्न भएका छन् भने सयौँ कल्भर्ट निर्माण भएका छन् । मादी नदीको पुल भने छुट्टै ठेकेदारले निर्माण गरिरहेको छ, जुन अहिले निर्माणकै चरणमा छ ।

‘१७ पुलमध्ये तीनवटा ठूला (मेजर) र १४ वटा साना (माइनर) थिए, ती सबै सम्पन्न भइसके,’ पाण्डे भन्छन्, ‘सडक पनि लगभग सम्पन्न भइसक्यो । अब केही फाट्टफुट्ट काम मात्र बाँकी छन् ।’
यो सडक खण्ड विस्तारका लागि २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा सम्झौता भएको थियो । सम्झौता भएको तीन महिनापछि २०७८ वैशाख २ गतेदेखि विस्तार कार्य सुरु भएको थियो ।
२०२६ सालमा रेखाङ्कन भएको यो सडकमा पछिल्लो समय सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार थालिएको हो । यस खण्डमा डुम्रे र दमौली बजारमा ६ लेन तथा राजमार्गमा ४ लेनको सडक निर्माण गरिएको छ ।
पश्चिम खण्ड ५४ प्रतिशत सकियो
मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड पनि म्यादभित्र सम्पन्न हुन नसक्ने देखिएको छ । जामुनेदेखि पोखराको सेती पुलसम्मको यस खण्डमा हालसम्म ५४ प्रतिशत काम सकिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । यसको निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद आगामी पुस १६ गतेसम्म छ, तर बाँकी काम सो अवधिमा सम्पन्न हुन नसक्ने आयोजनाको भनाइ छ ।
हालसम्म ३६ किलोमिटर एकतर्फी सडक कालोपत्रे भएको पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार एकतर्फी सडकमा १५ सय मिटर कालोपत्रे हुन बाँकी छ । यस्तै, २६ किलोमिटर चार लेन सडक कालोपत्रे भएको छ भने अब १२ किलोमिटर चार लेन सडक कालोपत्रे हुन बाँकी छ ।
यसैगरी, पश्चिम खण्डमा पर्ने १२ वटा पुलमध्ये १० वटा निर्माण सम्पन्न भएका छन् । एउटा सम्पन्न हुने चरणमा छ भने अर्को एउटा पुल निर्माण हुन अझै समय लाग्ने देखिएको छ । एक सय कल्भर्टमध्ये ९२ वटाको निर्माण सकिएको छ ।
पश्चिम खण्ड निर्माणको ठेक्का ७ अर्ब ४० करोड रुपैयाँमा एनहुई केयूएन हाइवे एन्ड ब्रिजले पाएको हो । २०७८ जेठ ३ गते भएको सम्झौताअनुसार सुरुमा २०८१ भदौ १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर सो अवधिमा काम नसकिएपछि म्याद थपिएको हो ।
यो खण्ड पनि म्यादभित्र पूर्ण रूपमा सम्पन्न हुन नसक्ने कुँवरको भनाइ छ । ’म्यादभित्र सडकको मुख्य काम सम्पन्न हुन्छ, तर सर्भिस लेन, फुटपाथ र सुरक्षाका कामहरू यो अवधिमा नसकिन सक्छन् । हाम्रो लक्ष्य चार लेन सडक र सर्भिस लेनको काम सक्ने हो,’ कुँवर भन्छन्, ‘सर्भिस लेन बनाउन सुरु भइसकेको छ । २५ सय मिटर बनिसक्यो तर अहिले वर्षाले गर्दा निर्माणमा अवरोध छ । कालोपत्रेको काम लगभग ठप्प छ ।’
हाल नाली र संरचना निर्माणको काममा बढी केन्द्रित भएको उनको भनाइ छ ।
पश्चिम खण्ड निर्माणको ठेक्का ७ अर्ब ४० करोड रुपैयाँमा एनहुई केयूएन हाइवे एन्ड ब्रिजले पाएको हो । २०७८ जेठ ३ गते भएको सम्झौताअनुसार सुरुमा २०८१ भदौ १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर सो अवधिमा काम नसकिएपछि म्याद थपिएको हो । पहिलोपटक १०१ दिन र दोस्रोपटक ३९० दिन म्याद थपिएसँगै अब काम सक्ने अन्तिम मिति २०८२ पुस १६ गते तोकिएको छ ।






प्रतिक्रिया दिनुहोस्