भिसा आएपछि भाषा परीक्षा : जापान जाने कामदारमाथि सिन्डिकेटको आरोप
समाचार सारांश
- जापान जानुअघि प्रशिक्षार्थी कामदारले भाषा परीक्षा दिनुपर्ने, जसमा जानको सिन्डिकेट रहेको आरोप छ।
- वैदेशिक रोजगार व्यवसायीहरूले भाषा परीक्षाको नाममा जानले सिन्डिकेट खडा गरेको र खारेज गर्नुपर्ने माग गरेका छन्।
- सर्वोच्च अदालतमा रिट परेको र अदालतले भाषा परीक्षा नरोक्न अन्तरिम आदेश दिएको छ भने विभागले कार्यविधि खारेज गर्न नसक्ने जनाएको छ।
काठमाडौँ । नेपालबाट जापानमा काम गर्न जानुअघि प्रशिक्षार्थी श्रमिकहरूले जापानी भाषा र संस्कृति सम्बन्धी परीक्षा दिन्छन् । न्यूनतम २१९ घण्टाको पढाइ सकेपछि दिइने परीक्षामा पास गरेकाहरू मात्रै जापानमा काम गर्न जान पाउँछन् ।
सामाजिक संस्था नेपाल जाइका अलमनाई एशोसिएशन (जान) नेपालले त्यस्तो परीक्षा लिने गरेको छ । नेपाल सरकार र जापान सरकारबिच भएको सम्झौता अनुसार विगत १५ वर्षदेखि जानले जापानी भाषा र संस्कृति सम्बन्धी तालिमको परीक्षा लिँदै आएको संस्थाका अध्यक्ष डा. रामचन्द्र भुसालले बताए ।
जानले भाषा परीक्षाको नाममा तीन हजार ३०० रूपैयाँ शुल्क लिने गरेको छ । गैरसरकारी संस्थाको रूपमा दर्ता भएको जानले सरकारसँगको मिलेमतोमा सिन्डिकेट खडा गरेको वैदेशिक रोजगार व्यवसायीहरूको आरोप छ । जानले भाषा परीक्षा लिने विषयलाई लिएर सर्वोच्च अदालतमा रिटसमेत परेको छ । सर्वोच्चले भाषा परीक्षा नरोक्न अन्तरिम आदेश जारी गरिसकेको छ ।
मेनपावर व्यवसायीहरूले भाषा परीक्षाको नाममा जानको सिन्डिकेट भइरहेको बताउँदै त्यो बन्द हुनुपर्ने माग गर्दै आएका छन् । जानले भिसा र वर्किङ परमिट आइसकेपछि भाषा परीक्षा लिने गरेको हो । भाषा परीक्षा पास गर्न नसक्नेहरू जान पाउँदैनन् । तीन पटकसम्म मौका परीक्षा दिन पाउने तर त्यसमा पास गर्न नसकेको खण्डमा त्यो व्यक्ति सधैँका लागि जापान जान अयोग्य हुन्छ ।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले जानले गैरकानुनी काम गरिरहेको बताए । ‘जान गैरसरकारी संस्था हो र यसले नाफामूलक काम गर्न पाउँदैन, तर यसले प्रतिव्यक्ति ३३ सय रुपैयाँ लिएर भाषा परीक्षा सञ्चालन गरिरहेको छ । यो सरासर गैरकानुनी हो,’ भण्डारीले भने ।
जानले आफ्नो पहुँचको आधारमा यो जिम्मेवारी लिएको र यसको उद्देश्य पैसा कमाउनुमात्रै भएको उनको भनाइ छ । ‘उनीहरूले पटक–पटक विद्यार्थी फेल गराएर पैसा असुल्छन् । जापान सरकारले भिसा दिइसकेको अवस्थामा पनि जानले फेल गराउँदा कामदार जापान जान पाउँदैनन्,’ भण्डारीले भने, ‘जापानको रोजगारदाताले उसलाई छनोट गरेको छ । तर यसले फेल गराइदिन्छ । यो कसैको पनि रेकग्नाइज होइन । जापान सरकारको रेकग्नाइज पनि हैन ।’
जापानले गरिब मुलुकहरूबाट केही सिप सिकेका श्रमिकहरूलाई लैजाने गरेको छ । उतै लगेर एड्भान्समा सिप तथा भाषा सिकाउने गर्छ । सोही आधारमा उसले प्रशिक्षार्थी कामदार लैजाने गरेको हो । तर, जानले भाषा परीक्षाको नाममा सिन्डिकेट तथा लुट मच्चाइरहेको भण्डारीको आरोप छ ।
जानका अध्यक्ष भुसालले १५ वर्षदेखि नेपाल सरकारसँगको सम्झौता अनुसार नै भाषा परीक्षा लिने गरेको बताए । नेपाल सरकार र जापान सरकारबिचको सम्झौता अनुसार नै २१९ घण्टाको तालिमपछि भाषा परीक्षा लिने गरिएको उनको भनाइ छ । ‘यो सबै सरकारी निर्णय र निर्देशिका अनुसार नै भएको छ,’ उनले भने ।
भुसालले यो विषयमा सर्वोच्चमा मुद्दा परेको र अदालतले भाषा परीक्षा नरोक्न अन्तरिम आदेश दिएको जिकिर गरे । उनका अनुसार अहिलेसम्म ५ हजारभन्दा बढीले यो परीक्षा दिइसकेका छन् ।
वैदेशिक रोजगार विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले पनि यो प्रक्रिया २०६७ सालदेखि नै चलिरहेको बताए । ‘यो तात्कालीन समयमा बनेको कार्यविधि अनुसार नै भएको हो । अहिले यो विषय अदालतमा विचाराधीन रहेकाले हामीले कार्यविधि खारेज गर्न सक्दैनौँ,’ शिवाकोटीले भने ।
उनले भाषा परीक्षा नहुँदा कामदारहरूको श्रम स्वीकृति रोकिने अवस्था आएको र यस विषयमा मन्त्रालयले नै निर्णय गर्नुपर्ने बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले पनि जानले सिन्डिकेट खडा गरेको आरोप लगाउँदै यो खारेज हुनुपर्ने बताए । ‘संघको धारणा पनि त्यही हो । यो एक खालको सिन्डिकेट हो र यसलाई हामी समर्थन गर्दैनौँ,’ उनले भने ।
डिम्दोङका अनुसार जानले पैसा कमाउनकै लागि यो काम गरिरहेको छ भने यसले कामदारलाई मर्कामा पारेको छ । ‘एक जना डाक्टरले मात्रै अन्तर्वार्ता लिने र तीन जना नपुगेसम्म परीक्षा नै नलिनेजस्ता नियम छन्, जसले गर्दा कामदारलाई समस्या भएको छ,’ उनले भने ।
जानले कुनै पनि रिक्रुटिङ एजेन्सीलाई टार्गेट गरेर काम गर्ने गरेको डिम्दोङको दाबी छ । एन–४ लेभलको मान्छे पनि फेल हुने गरेको जिकिर गर्दै उनले यो विषयमा छानबिन हुनुपर्ने बताए ।
नेपाल वैदेशिक रोजगार संघले २०८१ कात्तिक ७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएको थियो । जसमा जानको सिण्डिकेट खारेज गर्न माग गरिएको थियो ।
- कसरी हुन्छ भाषा परीक्षा ?
जापानका रोजगारदाता कम्पनीहरूले नेपालबाट अभ्यासार्थी (प्रशिक्षार्थी) कामदार लैजान्छन् । त्यसका लागि नेपालका इजाजतपत्रवाला मेनपावर संस्थामार्फत कामदार लैजान्छन् । ती कम्पनीहरूले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि जापानको रोजगारदाताले भिसा दिन्छन् ।
जापानका रोजगारदाताहरूले सुरुमा कामदार छान्छन् । उनीहरूले छानेर पठाएका कामदारलाई नेपालका रोजगारदाताले भिसा प्रक्रिया अगाडि बढाउँछन् । भिसा आइसकेपछि विभागले भाषा परीक्षाको लागि पठाउने, भाषा परीक्षा जानले लिने र त्यसको लागि वैदेशिक रोजगार विभागले जानमा पठाउने गरेको अध्यक्ष भुसालले बताए ।
परीक्षाको रिजल्ट आएपछि भिसा प्रक्रिया सुरु गर्ने, भिसा लिएपछि श्रम स्वीकृति दिने र जापान जाने प्रक्रिया चल्दै आएको अध्यक्ष भुसालको भनाइ छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ देखि १९ सम्मका सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि जानले प्रतिकामदार तीन हजार ३०० रूपैयाँ लिएर परीक्षा लिने गरेको संघको भनाइ छ ।
प्रशिक्षार्थी कामदारहरूले काम गर्दैै भाषासमेत कम्पनीमार्फत पढ्न पाउने हुँदा नेपालमा जानले भाषा परीक्षा लिइरहनुको औचित्य नभएको संघको दाबी छ ।






प्रतिक्रिया दिनुहोस्