बाढीले गल्छी गाउँपालिकामा क्षति, राहत वितरण र पुनर्निर्माण 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

सोमबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सांसद बोधनारायण श्रेष्ठलगायतको उपस्थितिमा आयोजित एक कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बाढीबाट भएको क्षति, गाउँपालिकाले गरिरहेको राहत वितरण र पुनर्निर्माणको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेका छन्।

frontline

अध्यक्ष खतिवडाले प्रस्तुत गरेको तथ्यांकअनुसार बाढीले गाउँपालिकाभित्रका भौतिक पूर्वाधार, कृषि र निजी आवासमा अपूरणीय क्षति पुर्‍याएको छ भने नागरिकको जीवनभरको कमाइ बगाएको छ।

मानवीय र भौतिक क्षति

गाउँपालिकाभित्रै प्रत्यक्ष मानवीय क्षति नभए पनि रोजगारी र सवारी चालकको रूपमा रसुवा गएका गल्छीका १० जना नागरिक बेपत्ता भएका थिए। तीमध्ये २ जनाको शव फेला परी सनाखत भइसकेको छ भने ८ जना अझै बेपत्ता छन्।

अध्यक्ष खतिवडाका अनुसार बाढीबाट जम्मा ३ सय २६ परिवार प्रभावित भएका छन्। क्षतिको विस्तृत विवरण यसप्रकार छ:

· निजी आवास: ५२ वटा घर पूर्ण रूपमा क्षति भएका छन् (वडा नं ६ मा ४१, वडा नं ४ मा ६, वडा नं ८ मा ३ र वडा नं १ मा २ घर)।

त्यसैगरी १३६ घरमा आंशिक क्षति पुगेको छ। बाढीका कारण १३८ भाडामा बस्ने परिवार विस्थापित भएका छन्।

· सार्वजनिक तथा सरकारी संरचना: डेढ तले पक्की भवन र १८ कोठे प्रिफ्याब भवन (सभाहलसहित) ध्वस्त भएका छन्। छागेश्वर मन्दिर प्रांगणका २ वटा सामुदायिक भवन, २ वटा सामुदायिक विद्यालय र १ निजी विद्यालयमा क्षति पुगेको छ।

· पुल र सडक: ४ वटा पक्की पुल तथा १० वटा झोलुङ्गे पुल पूर्ण रूपमा र २ वटा झोलुङ्गे पुल आंशिक रूपमा क्षति भएका छन्।

· खानेपानी: वडा नं ६ मा ४ वटा र वडा नं १ मा एउटा खानेपानी आयोजनामा क्षति पुग्दा २ सय ६० घरधुरी काकाकुल बनेका छन्।

· कृषि तथा जग्गा: भदौ १०, १२ र १४ गतेको बाढीले वडा नं १ मा २५८ रोपनी, वडा नं २ मा २८ रोपनी, वडा नं ४ मा ४५ रोपनी र वडा नं ६ मा ३८ रोपनी कृषियोग्य जमिन र बाली पूर्ण रूपमा नष्ट तथा कटान गरेको छ।

· अन्य: अमलेश्वर र छागेश्वर मन्दिर संरक्षण क्षेत्र, ४ सार्वजनिक शौचालय, २ खेलमैदान, २ बाल उद्यान, शवदाह स्थललगायत १५ वटा मठमन्दिर तथा ट्रस्टमा क्षति पुगेको छ।

राहत वितरण र गाउँपालिकाको कदम

गाउँपालिकाले भदौ १० गते नै आपत्कालीन बैठक बसी प्रभावित परिवारलाई तत्काल १० हजार रुपैयाँ नगद राहत दिने निर्णय गरेको थियो। जसअनुसार ६५ परिवारलाई उक्त रकम वितरण गरिसकिएको छ।

यस्तै, मृत्यु भएका २ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ। विस्थापित परिवार राख्न वडा नं ४ र ७ मा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ।

अध्यक्ष खतिवडाका अनुसार हालसम्म ६५ वटा विभिन्न सरकारी, गैरसरकारी तथा सहयोगी संस्थाहरू (चुजी फाउन्डेसन, वर्ल्ड फुड प्रोग्राम, रेडक्रस, रोटरी क्लब आदि) बाट राहत प्राप्त भएको छ।

बाढीपीडित परिवारलाई कम्तीमा ३ देखि ५ बोरा चामल, ग्यास चुलो, भाँडाकुँडा, लत्ताकपडा र बिस्तारा उपलब्ध गराइएको छ। वर्ल्ड फुड प्रोग्रामको प्रतिबद्धतासहित हालसम्म संकलित सामग्रीले बाढीपीडितलाई करिब ५ महिनासम्म खान पुग्ने बन्दोबस्त भएको अध्यक्ष खतिवडाले जानकारी दिए।

पुनर्निर्माणमा ‘चुजी फाउन्डेसन’ को ठूलो साथ

बाढीले गाउँपालिकाको १५ शय्याको अस्पतालका सम्पूर्ण मेसिनरी र उपकरण नष्ट गरेको थियो। सो अस्पतालको सरसफाइ सकिएको छ भने बौद्ध संस्था ‘चुजी फाउन्डेसन’ को सहयोगमा अस्पतालका यन्त्र उपकरणहरू आउन सुरु भएको छ।

फाउन्डेसनकै सहयोगमा आयुर्वेद अस्पताल र विद्यालय सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भइरहेको छ। साथै, चुजी फाउन्डेसनकै पहलमा विस्थापितका लागि ‘नमुना निजी घर’ निर्माणको कामसमेत सुरु भइसकेको छ।

सयौंको संख्यामा आएका स्वयंसेवकहरूले भोकभोकै खटेर अस्पताल र विद्यालयको सरसफाइमा योगदान पुर्‍याएको भन्दै अध्यक्ष खतिवडाले सबै दाता र स्वयंसेवकलाई धन्यवाद ज्ञापन गरे।

संघीय सरकारसँग अध्यक्षको अपिल

तत्कालको राहत वितरण सहज भए पनि अब विस्थापितहरूको स्थायी पुनर्स्थापना मुख्य चुनौती रहेको अध्यक्ष खतिवडाले बताए।

सभामुख अर्याललाई साक्षी राख्दै उनले संघीय सरकारसँग गुहार मागे, ‘धेरै मान्छेले जिन्दगीभर कमाएर बनाएको घर र सम्पत्ति बगेको छ। त्यही ठाउँमा पुनर्स्थापना गर्न सकिने अवस्था छैन र नागरिकले आफ्नै खर्चमा तत्काल घर बनाउन सक्ने अवस्था पनि छैन।’

उनले थपे, ‘नागरिकको सुरक्षित स्थानान्तरण र दीर्घकालीन बसोबासका लागि संघीय सरकारले कस्तो कार्यक्रम ल्याउँछ भन्ने हाम्रो चासो छ, यसमा राज्यले सहयोग गर्नैपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here