पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइ भइरहेको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा १९ जेठ २०८२ मा उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ विगो र सजाय माग गरिएको छ।
अख्तियारका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०७४ साल माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थामा नगद मौज्दातसमेत गरी १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ती खर्च तथा लगानी गरेको देखिएको तर सोही अवधिमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि उनीविरुद्ध भ्रष्टाचार मु्द्दा दायर भएको हो।
आयोगले पूर्वमुख्यमन्त्री सोडारीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ। उनले आयोगसमक्ष पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइ छिपाई झुट्टा विवरण पेश गरेको अख्तियारको ठहर छ।
सोडारीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट उनकी श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद,घर निर्माण र बैंक मौज्दातको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख समेतको कानुन बमोजिम जफत गर्न माग गरिएको आरोप-पत्रमा उल्लेख छ।






प्रतिक्रिया दिनुहोस्