धरौटीमा छुटे एन्फा अध्यक्ष र महासचिव
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
अदालतले पक्राउ पुर्जी जारी गरे पनि लामो समय फरार रहेका उनीहरू बुधबार नै अदालतमा हाजिर भएका थिए। तर, नेतृत्वमाथि लागेको आरोप, एन्फाभित्रको शक्ति संघर्ष र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनका कारण नेपाली फुटबलको संकट तत्काल समाधान हुने अवस्था भने देखिएको छैन।
नेतृत्वमाथिको कानुनी कारबाहीसँगै एन्फाको प्रशासनिक विवाद पनि चर्किएको छ। अध्यक्ष र महासचिवविरुद्ध मुद्दा दायर भएपछि संघको कामकारबाही प्रभावित बनेको छ भने कार्यसमितिका बहुमत सदस्यले नेतृत्वसँग असन्तुष्टि जनाउँदै छुट्टै बैठक बोलाउने तयारी गरेका छन्। अर्कोतर्फ, फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ। यसले नेपाली राष्ट्रिय टोली र क्लबहरूको अन्तर्राष्ट्रिय सहभागितामै गम्भीर असर पारेको छ।






प्रतिक्रिया दिनुहोस्