डार्फरमा सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु
सुडानको पश्चिमी डार्फर क्षेत्रमा सुडानी सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले जनाएको छ। आक्रमणमा कैयौँ अन्य घाइते भएका छन्।
आपत्कालीन कानुन व्यवसायी समूह ‘इमर्जेन्सी लयर्स’का अनुसार आइतबार दिउँसो उत्तरी डार्फर राज्यको गारा अल–जाविया गाउँमा रहेको परम्परागत अदालतलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो। स्थानीय समयअनुसार दिउँसो करिब १ बजे भएको आक्रमणका बेला स्थानीय मुद्दा तथा विवादसम्बन्धी सुनुवाइमा सहभागी हुन सर्वसाधारण अदालत परिसरमा भेला भएका थिए।
गारा अल–जाविया अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)को नियन्त्रणमा रहेको क्षेत्र हो। आक्रमणबाट स्थानीय तथा जनजातीय विवाद समाधानका लागि प्रयोग हुँदै आएको अदालतको भवनमा समेत क्षति पुगेको छ।
क्षेत्रका एक प्रत्यक्षदर्शीले सुरक्षा कारण नाम नबताउने सर्तमा एएफपीलाई दिएको जानकारीअनुसार अदालतको सुनुवाइ भवनभित्र नभई एउटा रूखमुनि स्थानीय समुदायका अगुवाहरूको सहभागितामा भइरहेको थियो। आक्रमणमा मारिनेमा चार जना जनजातीय नेता र आरएसएफका दुई जना कमान्डरसमेत रहेको उनले बताए।
गारा अल–जाविया डार्फरको प्रमुख सहर कबकाबियानजिक पर्छ। यो क्षेत्र एल–फासेरबाट करिब १५० किलोमिटर पश्चिममा रहेको छ। एल–फासेर डार्फरमा सुडानी सेनाको अन्तिम प्रमुख पकडका रूपमा रहेको थियो, तर आरएसएफले गत वर्ष अक्टोबरमा भएको रक्तपातपूर्ण आक्रमणपछि उक्त सहर कब्जा गरेको थियो।
संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले एल–फासेरको घेराबन्दी र कब्जासँग जोडिएको हिंसामा ‘नरसंहारका लक्षण’ देखिएको बताएका छन्।






प्रतिक्रिया दिनुहोस्