जनमत पार्टीभित्र असन्तुष्टि: शेख फेराज
रौतहटको राजपुर नगर इन्चार्ज शेख फेराजका अनुसार जनमत पार्टीको नेतृत्वप्रति असन्तुष्टि राख्दै केही युवाहरूले पार्टीभित्र तानाशाही प्रवृत्ति मौलाएको आरोप लगाएका छन्। उनका अनुसार पार्टी निर्माणमा श्रम, समय र पैसा लगानी गर्ने पिँढीलाई पछिल्लो समय क्रमशः पछार्ने र भावनात्मक रूपमा दुरुपयोग गर्ने कार्य बढ्दो छ।
पार्टी गठनको प्रारम्भिक उद्देश्यबाट विचलन भएको युवाहरूको आरोप छ। “कसलाई समावेश गरिँदैछ र किन गरिँदैछ भन्ने प्रश्नलाई नेतृत्वले बेवास्ता गर्यो,” उनीहरूले बताएका छन्।
पढेलेखा युवाहरूलाई “भावनात्मक रूपमा ब्ल्याकमेल गर्ने” प्रवृत्ति बलियो बनेको उनीहरूको भनाइ छ। मधेशलाई ‘अलग देशको सपना’ देखाएर युवाहरूलाई भेला गरिए पनि त्यो सपनाको अवमूल्यन भएको उनीहरूको आरोप छ।
जसले श्रम र जागिर छोडेर संगठन खडा गरे, उनीहरूलाई राजनीतिक पाठ पढाउने, तल्लो तहमा धकेल्ने र अनुभवी युवाहरूको योगदानलाई नजरअन्दाज गर्ने कार्य भएको उनीहरू बताउँछन्।
स्थानीय तहदेखि नै पार्टीभित्र जातीय र गुटगत राजनीति हावी भएको युवाहरूको गुनासो छ। परिणामस्वरूप, “दलाल प्रवृत्ति” का केही व्यक्तिहरू हाबी बनेको उनीहरूको आरोप छ।
मधेश प्रदेश सरकार गठनको क्रममा अध्यक्षले ‘चलखेल’ गरेको आरोप लगाउँदै उनीहरूले त्यसपछि संगठन भित्र कमजोरी झनै प्रष्ट भएको बताएका छन्। “पद, पैसा र सुविधामा लिप्त मानसिकता” ले पार्टीप्रति विश्वास घटेको उनीहरूको भनाइ छ।
पोस्टरदेखि प्रचारसम्म अध्यक्षबाहेक अरूलाई स्थान नदिने, पुराना कार्यकर्तालाई बेवास्ता गर्ने र ‘copy-paste संस्कृति’ विकास गरेको आरोप राखिएको छ।
समानुपातिक सांसद बनाउन २० लाख लिइएको, सरकारमा गएपछि आफन्तलाई नियुक्त गरेको र मन्त्रीहरूले विकासभन्दा ‘बार्गेन’ मा ध्यान दिएको युवाहरूको दाबी छ।
“अब हामी चुप लागेर बस्दैनौं,” भन्दै उनीहरूले सुधार वा विद्रोहको संकेत दिएका छन्। नेतृत्वको ‘अहंकार, भावनात्मक ब्ल्याकमेल, गुटबन्दी र शोषण’ अन्त्य गर्ने माग राखिएको छ।
अन्तमा उनीहरूले भनेका छन्, “हामी गुलामी होइन, परिवर्तन चाहन्छौं। जीवनमा धेरै गुमाइसकेका हौं, अब बोल्न थालिसकेका छौं।”






प्रतिक्रिया दिनुहोस्