ग्रीनल्यान्डमा नयाँ सैन्य बेस स्थापना गर्ने अमेरिकाको तयारी
ग्रीनल्यान्ड । अमेरिकाले दक्षिणी ग्रीनल्यान्डमा शीतयुद्धको समयको सैन्य अड्डा पुनःस्थापना गर्ने र ग्रीनल्यान्डको पूर्वी तटमा अर्को सैन्य अड्डा स्थापना गर्ने योजना बनाएको छ । उक्त पूर्वी तटीय स्थान अहिले डेनमार्कको डग स्लेड (कुकुरले तान्ने स्लेज) गस्ती टोलीले प्रयोग गर्दै आएको छ । मंगलबार डेनमार्क र ग्रीनल्यान्डसँग हुने सम्झौताअन्तर्गत यी योजना अघि बढाइने सम्बद्ध स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।
जस अनुसार, दक्षिणी ग्रीनल्यान्डको नार्सार्स्वाकमा अमेरिकी सैन्य अड्डा पुनःस्थापना गरिनेछ । त्यहाँ सन् १९५० को दशकमा अमेरिकाले आफ्नो ब्लुई वेस्ट वन सैन्य अड्डा बन्द गरेपछि अहिले केही दर्जन मानिस मात्र बसोबास गर्छन् । अर्को सैन्य स्थान मेस्टर्सीभगमा स्थापना गरिनेछ, जुन अहिले डेनमार्कको विशेष सैन्य बलअन्तर्गत रहेको सिरियस डग स्लेड पेट्रोलले प्रयोग गर्दै आएको छ ।
डेनमार्क, ग्रीनल्यान्ड र अमेरिकाबिच मंगलबार बिहान न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा नयाँ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । सम्झौताको पूर्ण पाठ अहिलेसम्म सार्वजनिक गरिएको छैन । सम्झौताबारे जानकारी भएका तीन जनालाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार सम्झौताका केही विवरण हस्ताक्षर हुने समयसम्म सार्वजनिक हुने छैनन् ।
डेनमार्क र ग्रीनल्यान्डका सरकारहरूले यस विषयमा टिप्पणीबारे कुनै प्रति िक्रया दिन मानेनन् । ह्वाइट हाउसका प्रवक्ताले पनि सम्झौताका विस्तृत विषयमा टिप्पणी गर्न अस्वीकार गरे । उनले यसअघि जारी गरिएको भनाइ दोहोर्याउँदै मंगलबार हुने सम्झौताले ‘ग्रीनल्यान्ड र संयुक्त राज्य अमेरिकाको सुरक्षा सुनिश्चित र रक्षा गर्ने’ बताए ।
डेनमार्कका अनुसार, यो सम्झौताले आर्कटिक क्षेत्रको सुरक्षा जिम्मेवारीलाई अमेरिका र डेनमार्कको मात्र विषय नबनाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को निगरानी र सुरक्षा संरचनाभित्र ल्याउनेछ ।
यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँदेखि दिएको दबाबपछि हुन लागेको हो । ट्रम्पले लामो समयदेखि अमेरिकाले ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्नुपर्ने बताउँदै आएका छन् । उनले ग्रीनल्यान्ड प्राप्त गर्न सैन्य वा आर्थिक शक्ति प्रयोग गर्ने सम्भावनालाई समेत अस्वीकार गरेका थिएनन् । तर, विभिन्न सर्वेक्षणअनुसार ग्रीनल्यान्डका बहुसंख्यक नागरिकले अमेरिकासँग ग्रीनल्यान्ड गाभिने विचार अस्वीकार गरेका छन् ।
ट्रम्पका धम्कीहरू जनवरीमा उत्कर्षमा पुगेपछि नाटोभित्रै कूटनीतिक संकट उत्पन्न भएको थियो । त्यसपछि डेनमार्क र ग्रीनल्यान्डले अमेरिकी दबाब कम गर्ने उद्देश्यले वासिङ्टनसँग वार्ता अघि बढाएका थिए ।
शीतयुद्धको समयमा अमेरिकाले ग्रीनल्यान्डमा १७ वटा सैन्य संरचना/अड्डा सञ्चालन गरेको थियो । त्यहाँ १० हजारभन्दा बढी अमेरिकी सैनिक तथा कर्मचारी थिए । अहिले भने पिटुफिक स्पेस बेसमात्र अमेरिकी नियन्त्रणमा रहेको प्रमुख सैन्य संरचना हो, जहाँ करिब १५० जना अमेरिकी सैन्य कर्मचारी छन् ।






प्रतिक्रिया दिनुहोस्