काठमाडौं महानगरपालिकाले ‘जलवायु कार्य सप्ताह’ गर्ने
काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि ‘जलवायु कार्य सप्ताह’ सुरु गर्ने भएको छ।
महानगरले बिहीबार पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास थालनी गर्ने उद्देश्यका साथ जलवायु कार्य सप्ताह सुरु गर्न लागिएको जनाएको हो। सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा प्रत्येक दिन फरक विषयलाई केन्द्रमा राखिने महानगरले जनाएको छ। जसमा नीतिगत तथा राजनीतिक संवादरराउन्ड टेबल, जलवायु वित्त, नागरिक विज्ञान र सम्पदा, ऊर्जा प्रणाली र फोहोरमैला व्यवस्थापन, बालबालिका तथा युवा जलवायु कार्य दिवस, खाद्य प्रणाली र अन्तिम दिन नागरिक समाजरउत्तरदायित्व तथा ‘काठमाडौँ घोषणा २०८३’ जारी गर्ने कार्यक्रम समावेश रहेको काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार, बैंक तथा वित्तीय संस्था र आम सर्वसाधारणलाई एउटै मञ्चमा ल्याई कार्यान्वयन तहमा तत्काल कार्य थालनी गर्ने लक्ष्य राखिएको उनले बताइन्। डंगोलले जाडो महिनामा चिसोसँगै वायु प्रदूषण बढ्ने र काठमाडौँ उपत्यका प्रदूषित सहरको सूचीमा माथिल्लो क्रममा पर्ने गरेकाले वायु प्रदूषण सम्बोधन गर्ने कार्ययोजना पनि जलवायु कार्य सप्ताहकै क्रममा सार्वजनिक गरिने जानकारी दिइन्।






प्रतिक्रिया दिनुहोस्