काठमाडौँ महानगरमा नयाँ ‘ट्विस्ट’ : नवीन मानन्धर बालेनको कित्तामा

समाचार सारांश

  • काठमाडौं महानगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा मेयर र प्रशासकीय अधिकृतबीचको विवाद बढेको छ।
  • मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको विवादका कारण बजेट अलपत्र परेको छ, र प्रवक्ता मानन्धरले बालेनलाई साथ दिएका छन्।
  • ६ मध्ये ५ महानगरपालिकाले बजेट ल्याए पनि काठमाडौंमा भने बजेट प्रक्रिया नै सुरु हुन सकेको छैन।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक निर्धारित समयमा बजेट ल्याउन नसक्दा आलोचना भइरहेको छ ।  देशको राजधानी समेत रहेको महानगरपालिकामा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको विवादले बजेट अलपत्र परेको छ । 

frontline

मेयर बालेन काठमाडौँ टावरको नक्सा पास विवादमा परेको सरोज गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृत अस्वीकार गर्ने पक्षमा छन् ।  तर मेयर बालेन बाहेकका अन्य कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत स्वीकार गरेका छन् ।

रास्वपाबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ बाहेक अन्य कार्यपालिका सदस्यहरूले नै प्रमुख प्रशासकीय अधिकृत गुरागाँईलाई पुनः बहाली गर्न  सक्रिय भूमिका खेलेका थिए । उक्त समयमा  काठमाडौँ १७ का वडाध्यक्ष समेत रहेका महानगर प्रवक्ता नवीन मानन्धर नेतृत्वदायी भूमिका थिए । बालेन अहिले पनि  प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ बिदामा बस्न वा सरुवा हुन दबाब सिर्जना गरिरहेका छन् ।   

नवीन मानन्धर फेरिए, जनप्रतिनिधि नै अन्योलमा   

तर महानगरमा एकाएक नयाँ‘ट्विस्ट’ आएको छ ।  प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्नुपर्ने माग गर्दै आएका बालेनका पक्षमा प्रवक्ता मानन्धरसहित केही जनप्रतिनिधि खुलेका छन् । मानन्धर पछिल्लो केही समय मेयर बालेनका सबैभन्दा कडा आलोचक बनेका थिए । उनले बालेनलाई विभिन्न आरोप लगाएपछि  बालेनले स्पष्टीकरण समेत सोधेका थिए ।

उनलाई सूचना प्रविधि समितिको संयोजकबाट समेत बालेनले हटाएका थिए ।  उनीसहित चार जनालाई महानगरका समितिको संयोजकको जिम्मेवारीबाट हटाएका  मेयरले केही समय अघि मात्रै  निर्णय फिर्ता लिएका थिए ।  तर महानगरका बजेट आउन नसकेको भन्दै उनी प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको ठिक भन्दै जनप्रतिनिधिहरूसँग मानन्धरले संवाद गरिरहेको एक वडाध्यक्षले रातोपाटीलाई जानकारी दिए । 

‘पहिले बालेन ठिक छैन भन्दै हुनुहुन्थ्यो तर अहिले बजेट ल्याउनुपर्छ, बालेनले भनेको मानेरै जाउँ । बरु प्रमुख प्रशासकीय अधिकृतलाई अहिले बिदामा बस्न भनौँ भन्दै भूमिका खेलिरहेका छन्’ ती वडाध्यक्षले भने ।  अहिले महानगरका  राजनीतिक दलबाट जितेका जनप्रतिनिधिबिचमै एक मत बनाउन समेत समस्या भइरहेको उनले बताए । 

बालेन अहिले पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ विनै बैठक राख्ने पक्षमा छन् । अधिकांश जनप्रतिनिधि भने त्यस्तो अवैधानिक बैठकहरू राख्नुहुन्न भन्ने मतमा छन् । तर, मानन्धरसँगै थप एक–दुई जना वडाध्यक्षलाई मेयर बालेनले व्यक्तिगत भेटघाट गरेपछि महानगरमा ‘ट्विस्ट’ आएको हो । 

 ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय अर्थात् असार १० मै बजेट ल्याए  । तर, काठमाडौँ महानगरपालिमा भने अहिलेसम्म पनि अन्योल कायमै छ ।  बजेटको प्रक्रिया सुरु गर्न बजेट तर्जुमा तथा कार्यक्रम समिति, नगर प्रमुखको संयोजकत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नुपर्ने हुन्छ । तर अहिलेसम्म प्रक्रिया नै सुरु भएको छैन ।

#काठमाडौं महानगर #काठमाडौँ #बजेट

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here