कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : पदाधिकारी चयनमै भाँडभैलो

 नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश अधिवेशनमा पदाधिकारी चयनमै भाँडभैलो देखिएको छ । शनिबार देउवाले उदघाटन गरेको अधिवेशनले सभापति सर्वसम्मत चयन गरे पनि पदाधिकारी र सदस्य चयनमा भने अझै अन्योल सिर्जना भएको छ ।

अधिवेशन उदघाटनकै दिन निर्वाचन संयोजक वीरेन्द्र केसीले सभापतिमा मेषलाल श्रेष्ठ र महामन्त्रीमा पोषराज शर्माको नाम घोषणा गरेका थिए । तर, निर्वाचन प्रक्रियामै प्रवेश नगरी नाम घोषणा गरिएको भन्दै नेता–कार्यकर्ताले विरोध गरे ।

frontline

नेता–कार्यकर्ताको विरोधपछि निर्वाचन संयोजक केसीले सुनाएको निर्णय खारेज गरियो । भोलिपल्ट देउवा समूहका नेता तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका जीतबहादुर शेरचनले सभापतिमा मेषलालसहित सदस्यहरूको नाम घोषणा गरे ।

निर्वाचन प्रक्रियामै प्रवेश नगरी सर्वसम्मत गराउन खोजेका नेताहरू आकांक्षी धेरै हुँदा पदाधिकारी चयनमै असफल भएका छन् । उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतका पदमा धेरै आकांक्षी भएपछि टुंगो लाग्न सकेको छैन ।

महामन्त्रीमा पनि तीन जनाको दाबेदारी

महामन्त्रीमा पोषराज शर्माको नाम सर्वसम्मत घोषणा गरिए पनि महामन्त्रीका दुई खुला पदका लागि तीन जना दाबेदार छन् । खुलातर्फ कास्कीका पोषनाथ शर्मा, लमजुङका थिरबाबु खाती परियार र पर्वतका मोहन गुरुङ महामन्त्रीका आकांक्षी छन् ।

आकांक्षी व्यवस्थापनकै लागि उपसभापति, महामन्त्रीलगायतका पद चार जना रहने व्यवस्था गरिएको छ । दुई जना खुला, एक जना समावेशी र एक जना मनोनित गरी चार जना महामन्त्री रहने व्यवस्था मिलाइएको छ ।

सहमहामन्त्री भने पाँच जना हुनेछन् । दुई जना खुला, एक महिला र दुई जना मनोनित गर्ने व्यवस्था गरिएको छ । एक जना कोषाध्यक्ष रहनेछन् । कुल १५ जना पदाधिकारी रहने व्यवस्था मिलाइएको छ । तर, नेताहरूको आकांक्षा व्यवस्थापन गर्न देउवा समूहलाई गण्डकीमा सकस परेको छ ।

संगठन विस्तार, नेताहरूको आकांक्षा व्यवस्थापन र सबैको प्रतिनिधित्व सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको नवनिर्वाचित सभापति मेषलाल श्रेष्ठले बताए । मनाङ र मुस्ताङबाहेक सबै जिल्लाबाट पदाधिकारीमा समेटिने गरी व्यवस्था मिलाइएको श्रेष्ठको भनाइ छ ।

‘एउटै जिल्लाबाट धेरै जना पदाधिकारीमा उम्मेदवार छन् भने सम्बन्धित जिल्लाले नै मिलाउने भनेका छौं । सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाउने भनेका छौं,’ सभापति श्रेष्ठले भने, ‘ठूलो कारणले ढिला भएको होइन, सबै आकांक्षीलाई समेट्न खोज्दा ढिला भएको हो । उपसभापति र सहमहामन्त्रीमा धेरै जना आकांक्षी हुँदा सकस परेको हो ।’

लमजुङ जिल्लाको अधिवेशन १० गते तोकिएको र त्यसपछि पदाधिकारी चयनको टुंगो लाग्ने श्रेष्ठको भनाइ थियो ।

‘चाँडो टुंग्याउन खोजेका छौं । पदाधिकारीमा सबै जिल्लाले पाउने गरी बाँडिएको छ, मनाङ र मुस्ताङबाहेक । नोमिनेसनमा परेकाबाहेकलाई यताउता गर्न पाइँदैन । सबैभन्दा बढी समस्या उपसभापति र सहमहामन्त्रीमा हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सकभर साथीभाइको बीचमा छलफल गरेरै गर्दा जाति हुन्छ भनेर लागिएको छ ।’

सभापतिमा प्रतिस्पर्धाको प्रयास, तर मनोनयन नै भएन

गण्डकी सभापतिमा मेषलालसँग पर्वतका विश्व प्रसाइँले प्रतिस्पर्धा गर्ने आकांक्षा देखाएका थिए । तर, प्रसाइँले मनोनयन नै नगरेको निर्वाचन समितिको भनाइ छ ।

अधिवेशन उदघाटनकै दिन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक नगरेको, उम्मेदवारी दर्ताका लागि आवश्यक फारामसमेत उपलब्ध नगराएको अवस्थामा गरिएको घोषणाले अधिवेशनस्थलमै विवाद निम्त्याएको थियो ।

मञ्चमै रहेका गण्डकी प्रदेशका मन्त्री एवं बागलुङ कांग्रेसका पूर्वसभापति जीत शेरचन, प्रदेश सांसद तथा बागलुङ कांग्रेसका पूर्वसभापति दीपेन्द्र थापामगरलगायतले यसरी गरिएको घोषणाको विरोध गरेका थिए । विरोध चर्किएपछि निर्वाचन संयोजक केसीसहित केही नेता कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

निर्वाचन समितिको उक्त कदमप्रति आपत्ति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले निर्णय फिर्ता लिएर आइतबार बिहानदेखि शून्य अवस्थाबाट निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । त्यसपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

उपसभापतिमा ११ र सहमहामन्त्रीमा १२ जना आकांक्षी

गण्डकी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको बैठक बसेर निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको थियो । त्यसअनुसार सभापतिमा मेषलालको मात्र उम्मेदवारी परेको हो । महामन्त्रीसहित अन्य पदमा भने धेरै जनाको उम्मेदवारी परेको छ ।

धेरै जनाको मनोनयन परेपछि सहमतिको प्रयास गरिए पनि नेताहरू असफल भएका थिए ।

चार पद रहेको उपसभापतिका लागि ११ जनाले उम्मेदवार छन् । उपसभापतिका आकांक्षीमा पत्रकारसमेत रहेका नेता गंगाधर पराजुली, युवा नेता आशिक गुरुङ, उमाकुमारी ठकुरी, राजुराज अधिकारी, बागलुङका नरेश कँडेल र ज्ञानेन्द्र गौतम, लमजुङका विष्णुप्रसाद धिताल र राजकुमार पाण्डे, गोरखाका सञ्जय सिलवाल तथा तनहुँका राजेन्द्रप्रकाश घिमिरे र चिजा श्रेष्ठ छन् ।

तीन जना निर्वाचित हुने सहमहामन्त्रीको खुला पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । म्याग्दीका लोकबहादुर मल्ल, गोरखाका दिवशबाबु भट्ट, स्याङ्जाका महेन्द्र श्रेष्ठ, तनहुँका भक्तबहादुर श्रेष्ठ र इन्द्रप्रसाद पौडेल, बागलुङका उमेश गौतम र नवीन गौतम, नवलपुरका राजु पाण्डे, नारायणप्रसाद पन्त र सतिश न्यौपाने, कास्कीका बाबुराम बस्ताकोटी तथा लमजुङका प्रकाश न्यौपानेले उम्मेदवारी दिएका छन् ।

‘सुरुमा सर्वसम्मत गर्ने प्रयास गरिएको थियो । तर, सर्वसम्मत भनेर घोषणा भएपछि विरोध भएको र निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो । सभापतिबाहेक कुनै पनि पदमा सर्वसम्मत भएको छैन,’ उपसभापतिका आकांक्षी गंगाधरले भने, ‘म महामन्त्रीमा उम्मेदवारी दिने सोचमा थिएँ । तर, नेताहरूले सबैलाई मिलाएर लैजानुपर्छ भनेपछि उपसभापतिमा उम्मेदवारी दिएको छु ।’

विभाजनपछि देउवा समूहको कार्यसमिति १ सय सदस्यीय

कांग्रेस सभापति चयन भएका मेषलाल यसअघि शुक्रराज शर्मा नेतृत्वको कार्यसमितिमा उपसभापति थिए । देउवा समूहबाट पदाधिकारीमा निर्वाचित हुने उनी एक्ला थिए ।

कांग्रेस विभाजनपछि मेषलालसहित अन्य पदाधिकारी सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसमा लागेका छन् भने उपसभापति मेषलालसहित केही सदस्य गगन समूहमा लागेका हुन् ।

गण्डकीका पूर्वमन्त्रीसमेत रहेका मेषलाल स्याङ्जाका नेता गोपालमान श्रेष्ठसँग निकट मानिन्थे । नेपाली कांग्रेस देउवा समूहले ६७ सदस्यीय कार्यसमितिलाई बढाएर १ सय सदस्यीय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here