एनपीएल तेस्रो संस्करण

डेढ करोडको उपाधि: स्टार खेलाडीको जमघट

काठमाडौं : नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। आठ टोली, अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित अनुहार, बढ्दो पुरस्कार राशि र प्रविधिको प्रयोगले यसपटकको प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। 

एनपीएलको महत्व उपाधि जित्ने प्रतिस्पर्धा र विदेशी खेलाडीको उपस्थितिमा मात्रै सीमित छैन, नेपाली क्रिकेटले व्यावसायिकताको बाटो कति समातेको छ र त्यसले राष्ट्रिय टोली तथा नयाँ खेलाडीको विकासमा कस्तो योगदान दिन सक्छ भन्ने प्रश्नको जवाफ पनि यसै प्रतियोगिताले खोज्नेछ।

frontline

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई व्यावसायिक रूपमा अगाडि बढाउन एनपीएलले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘नेपाली क्रिकेटलाई व्यवसायिक बनाउन एनपीएलले महत्वपूर्ण भूमिका खेलेको छ। थुप्रै खेलाडी फ्रेन्चाइज टिममा आबद्ध भएका छन् भने एनपीएल आयोजनाबाट बचेको रकम पनि जिल्लादेखि केन्द्रसम्मका खेलाडीकै हितमा प्रयोग गरिँदै आएको छ’, सचिव खड्काले भने।

प्रहरीको विशेष सुरक्षा योजना

एनपीएलको तेस्रो संस्करणलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ। सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। खेलाडी, टोलीका पदाधिकारी, दर्शक र विशिष्ट व्यक्तिको सुरक्षालाई प्राथमिकतामा राख्दै मैदानदेखि खेलाडी बस्ने होटलसम्म सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ। प्रतियोगिताको सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टै योजना बनाएर काम थालेको छ। प्रतियोगिता अवधिभर दैनिक एक हजारभन्दा बढी प्रहरी खटिनेछन्। सुरक्षाका लागि नियमित पोसाकका प्रहरीसँगै सादा पोसाकमा रहेका प्रहरीसमेत परिचालन गरिने जनाइएको छ।

यसैगरी, एनपीएलको सुरक्षा व्यवस्थामा जनशक्तिसँगै प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ। खेलमैदान र आसपासका क्षेत्रलाई सीसीटीभी क्यामेराको निगरानीमा राखिने भएको छ। आवश्यक स्थानमा ड्रोनबाट निगरानी गरिनेछ भने शंकास्पद वस्तु पहिचान तथा सुरक्षा जाँचका लागि तालिम प्राप्त कुकुर परिचालन गरिने प्रहरीले जनाएको छ। त्रिवि मैदानमा जडान गरिएका सीसीटीभी क्यामेराको त्यहाँ खटिएका प्रहरीले निगरानी गर्नेछन्। अन्य क्षेत्रमा जडान गरिएका क्यामेराबाट प्राप्त दृश्य भने प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट अनुगमन गरिने भएको छ।

दर्शकको बढ्दो आकर्षण

एनपीएलको लोकप्रियता बढाउन खेलको गुणस्तर जति महत्वपूर्ण छ, दर्शकले मैदानमा पाउने सुविधा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शक क्षमतासहितका पूर्वाधार सुधार गर्ने प्रयास गरिएको छ। 

प्यारापिट, स्कोरबोर्ड, खेलाडीका लागि डगआउट र सञ्चारकर्मीका लागि मिडिया सुविधाले प्रतियोगिता सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ। दर्शक मैदानमा आउनु र प्रतियोगितासँग जोडिनु नै फ्रेन्चाइज क्रिकेटको व्यावसायिक आधार हो। एनपीएलले दर्शकलाई केवल टिकट खरिद गर्ने उपभोक्ताका रूपमा होइन, नेपाली क्रिकेटको विकासका साझेदारका रूपमा हेरिँदै आएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दको दाबी छ।

५ सयदेखि २ हजारसम्मका टिकट

एनपीएलको तेस्रो संस्करण हेर्न चाहने दर्शकले साधारण टिकटका लागि न्यूनतम ५ सय रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। क्यानले सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गर्दै लिग चरणका खेलमा साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिताको नकआउट चरणमा भने टिकटको मूल्य बढ्नेछ। इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

वार्नरदेखि रसेलसम्मको चमक

आईसीसीको मान्यतापछि नेपाली फ्रेन्चाइज क्रिकेटमा अन्तर्राष्ट्रिय खेलाडीको आकर्षण बढ्दै गएको छ। त्यही कारण अस्ट्रेलियाका विश्वकप विजेता ओपनर डेभिड वार्नर, वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल, बंगलादेशका अनुभवी अलराउन्डर सकिब अल हसन र दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेविड मिलरजस्ता स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर नेपाल आउँदै छन्। यी खेलाडीको उपस्थितिले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई थप आकर्षक बनाउनेमात्रै होइन, हरेक खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको आकर्षण बढ्नुको एउटा प्रमुख कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त आधिकारिक टीट्वेन्टी मान्यता हो। 

यससँगै प्रतियोगितामा बनाइएका रन र लिएका विकेट खेलाडीको आधिकारिक टीट्वेन्टी करियरको तथ्यांकमा समावेश हुनेछन्। साथै, फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा पहिलेभन्दा बढी विदेशी खेलाडी राख्न पाउने व्यवस्था पनि गरिएको छ। विदेशी खेलाडीको उपस्थितिले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा छ। तर, यसको महत्व नाम चलेका खेलाडीको उपस्थितिमा मात्र सीमित छैन, नेपाली खेलाडीले विश्वस्तरीय क्रिकेटरसँग एउटै ड्रेसिङ रुम प्रयोग गर्ने, अभ्यास गर्ने र दबाबपूर्ण अवस्थामा उनीहरूको खेल बुझ्ने अवसर पनि पाउनेछन्।

एनपीएलमा सबैभन्दा चर्चित नाममध्ये एक हुन्, अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर। आक्रामक ब्याटिङ, तीव्र रन गति र ठूला प्रतियोगितामा दबाब सामना गर्ने क्षमताका कारण वार्नरले विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका छन्। अस्ट्रेलियालाई एकदिवसीय विश्वकप र टीट्वेन्टी विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्नेछन्। 

यसैगरी वेस्ट इन्डिजका आन्द्रे रसेल टीट्वेन्टी क्रिकेटका सबैभन्दा चर्चित पावर हिटरमध्ये एक हुन्। केही बलमै खेलको दिशा बदल्न सक्ने क्षमता उनको मुख्य विशेषता हो। बलिङमा पनि प्रभाव पार्न सक्ने रसेललाई विराटनगर किङ्सले टोलीमा समेटेको छ। रसेलको उपस्थितिले विराटनगरको मध्यक्रमलाई बलियो बनाउने अपेक्षा गरिएको छ। अन्तिम ओभरमा तीव्र गतिमा रन बनाउनुपर्ने अवस्थामा उनको आक्रामक ब्याटिङ निर्णायक हुन सक्छ। विराटनगरले रसेलसँगै श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज र अन्य विदेशी खेलाडीलाई पनि टोलीमा समेटेको छ। अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको संयोजनले विराटनगरलाई उपाधि दौडमा बलियो दाबेदार बनाउने अपेक्षा गरिएको छ।

दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर कर्णाली याक्सबाट खेल्दै छन्। सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित मिलरले लामो समयदेखि अन्तर्राष्ट्रिय र विभिन्न फ्रेन्चाइज प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्। मिलरको मुख्य विशेषता पालिको अन्तिम चरणमा तीव्र गतिमा रन बनाउनु हो। दबाबपूर्ण अवस्थामा पनि ठूला सट खेल्न सक्ने उनको क्षमताले कर्णालीको ब्याटिङलाई नयाँ आयाम दिने विश्वास गरिएको छ।

यसैगरी बंगलादेशका अनुभवी अलराउन्डर सकिब अल हसन पोखरा एभेन्जर्सका महत्वपूर्ण विदेशी खेलाडी हुन्। ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने सकिबको अनुभवले पोखरालाई सन्तुलित टोली बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्तै इङ्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निसम जनकपुर बोल्ट्सबाट खेल्दैछन्। दुवै खेलाडी सीमित ओभरको क्रिकेटमा अनुभव प्राप्त अलराउन्डर हुन्। मोइनले ब्याटिङ र अफ स्पिन बलिङमार्फत योगदान दिन सक्छन् भने निसमको आक्रामक ब्याटिङ र मध्यम गतिका बलिङ उपयोगी बन्न सक्छ।

एनपीएलको तेस्रो संस्करणमा प्रत्येक फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ। तर, एक खेलमा मैदानमा उत्रने ११ खेलाडीमध्ये बढीमा चार जना विदेशी खेलाडी मात्रै समावेश गर्न पाइनेछ। अहिलेसम्म तीन दर्जनभन्दा बढी विदेशी खेलाडी नेपाल आउने निश्चित भइसकेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। ‘अहिलेसम्म तीन दर्जनभन्दा बढी विदेशी खेलाडी आउने निश्चित भइसकेको छ। धेरैजसो खेलाडी त नेपाल आइसकेकै पनि छन्,’ अध्यक्ष चन्द भन्छन्, ‘विश्वका चर्चित खेलाडीसँग खेल्न पाउँदा हाम्रा खेलाडीको स्तर पनि निकै बढ्नेछ भने नेपाली दर्शकले पनि संसारका चर्चित खेलाडीको खेल आफ्नै देशमा हेर्न पाउने छन्। यसले नेपाली खेलकुदसँगै देशको आर्थिक समृद्धिमा पनि सहयोग पुर्‍याउनेछ।’

पहिलो पटक डीआरएसको प्रयोग

तेस्रो संस्करणको महत्वपूर्ण पक्ष निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोग हो। क्रिकेटमा अम्पायरको निर्णय खेलको नतिजा बदल्न सक्ने भएकाले प्रविधिको प्रयोगले निर्णय प्रक्रियालाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। बलको प्रक्षेपण, ब्याटमा बल लागेको वा नलागेको अवस्था तथा अन्य निर्धारित निर्णयमा प्रविधिको सहायता लिन सकिने व्यवस्थाले खेलाडीलाई निष्पक्ष प्रतिस्पर्धाको अनुभूति दिलाउन सक्छ। निर्णायक क्षणमा विवाद कम गर्न र खेलको स्तर उकास्न पनि यसले सहयोग पु¥याउनेछ। अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित प्रविधि घरेलु फ्रेन्चाइज प्रतियोगितामा प्रयोग हुनु नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको क्यानका सचिव पारस खड्का बताउँछन्।

आईसीसीको मान्यता

एनपीएलको तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाउनु प्रतियोगिताका लागि अर्को महत्वपूर्ण उपलब्धि हो। यसले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान र खेलाडीका लागि यसको महत्व बढाएको छ। आधिकारिक टीट्वेन्टी मान्यता प्राप्त प्रतियोगितामा गरेको प्रदर्शन खेलाडीको करियर तथ्यांकमा समावेश हुनु खेलाडीका लागि थप प्रोत्साहन हो। यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिन्छ भने विदेशी खेलाडीलाई पनि प्रतियोगितामा सहभागी हुन थप आकर्षित गर्न सक्छ।

आठ टोली

तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली प्रतिस्पर्धामा छन्। लिग चरणमा प्रत्येक टोलीले अन्य सात टोलीसँग प्रतिस्पर्धा गर्नेछ। लिगमा उत्कृष्ट प्रदर्शन गर्ने चार टोली प्लेअफमा पुग्नेछन्। त्यसपछि क्वालिफायर र एलिमिनेटर हुँदै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। टीट्वेन्टी क्रिकेटमा एउटा ओभर, एउटा साझेदारी वा अन्तिम केही बलले खेलको नतिजा बदल्न सक्छ। त्यसैले टोलीको नाम, विदेशी खेलाडीको ख्याति वा अघिल्लो संस्करणको प्रदर्शनले मात्रै उपाधिको दाबेदार निर्धारण गर्ने छैन। खेलाडीको लय, टोलीको संयोजन, बलिङको विविधता र दबाबमा देखाउने धैर्य निर्णायक बन्न सक्छ।

सिंगल राउन्ड रोबिनमा खेल

सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर हुनेछ। यस खेलको विजेताले सिधै फाइनल स्थान बनाउने छ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्। एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

बढ्यो पुरस्कार राशि

यस पटकको एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्। क्यानका कोषाध्यक्ष पद्मबहादुर खड्काले नेपाली क्रिकेटमा व्यावसायिकता विस्तार अभियानलाई थप सशक्त बनाउन प्रतियोगिताको पुरस्कार राशि बढाइएको बताए। उनका अनुसार विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यसअघि पहिलो र दोस्रो संस्करणका विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउँदै आएकोमा क्यानले यसपटक पुरस्कार राशिमा भारी वृद्धि गरेको हो।

क्यानका कोषाध्यक्ष खड्काले टिकट बिक्री, टेलिभिजन राइट र प्रायोजकबाट करिब ७५ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको बताए। ‘अघिल्लो संस्करणमा भन्दा यस पटक एनपीएलको आम्दानी बढ्ने विश्वास गरिएको छ’, कोषाध्यक्ष खड्काले भने, ‘एनपीएलको ७५ करोड र अन्य फ्रेन्चाइज टोलीको ७५ करोड गरी तेस्रो संस्करणको प्रतियोगितामा १ सय ५० करोडको आर्थिक कारोबार हुनेछ।’

उद्‍घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमै अघिल्लो संस्करणका विजेता र उपविजेता आमनेसामने हुने भएपछि उद्घाटन खेलप्रति क्रिकेटप्रेमीको आकर्षण निकै बढेको छ। यही कारण उद्घाटन खेलको सम्पूर्ण टिकट करिब आधा घण्टामै सकिएको थियो।

लुम्बिनी लायन्सले अघिल्लो संस्करणमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो। सुरुवाती खेलमा अपेक्षित प्रदर्शन गर्न नसके पनि टोलीले त्यसपछि लगातार जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको थियो। त्यसैले यसपटक पनि लुम्बिनीको लक्ष्य उपाधि रक्षा गर्नु हुनेछ। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रने लुम्बिनीलाई आफ्नो अघिल्लो सफलताले आत्मविश्वास दिलाउने छ।

सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणमा उपविजेतामा सीमित भएको थियो। लगातार दोस्रोपटक उपाधिनजिक पुगेर पनि सफलता हात पार्न नसकेको टोली यसपटक सुरुदेखि नै बलियो प्रदर्शन गर्ने योजनामा छ। दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो।

एनपीएलले दर्शकलाई केवल टिकट खरिद गर्ने उपभोक्ताका रूपमा होइन, नेपाली क्रिकेटको विकासका साझेदारका रूपमा हेरिँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here