सर्वोच्चमा आज एउटामात्र इजलास, यस्तो छ कारण
समाचार सारांश
- आइतबार सर्वोच्च अदालतमा न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलास मात्र तोकिएको छ।
- नयाँ आर्थिक वर्ष सुरु भएको र आन्तरिक डाटा मिलाउन साउन ७ गतेसम्म एउटामात्र इजलास तोकिएको हो।
- एकल इजलासले बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेशसम्बन्धी मुद्दा हेर्नेछ।
काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार एउटामात्र इजलास तोकिएको छ । सर्वोच्चले न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासबाहेक आइतबारका लागि अन्य इजलास तोकेको छैन ।
न्यायाधीश पाण्डेयको इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित जम्मा सात थान मुद्दा पेसीमा छन् । सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुईकेलका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको र अघिल्लो आर्थिक वर्षका विभिन्न आन्तरिक डाटा मिलाउनका लागि साउन ७ गतेसम्म एउटामात्र इजलास तोकिएको हो ।
एकल इजलासले कुनै मुद्दामा आदेश दिएर अर्को दिन संयुक्त इजलास बस्नुपर्ने भएमा यस अवधिमा संयुक्त इजलास पनि बस्न नसक्ने तर, सामान्यतया बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश माग गरेका रिट निवेदनमात्र हेर्ने गरी इजलास तोकिने प्रवक्ता कुईकेलले जानकारी दिए ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि एक–डेढ सातादेखि बढीमा दुई सातासम्म देशभरका अदालतले आन्तरिक डाटा समायोजन गर्ने भएकाले यो अवधिमा सीमित इजलास बस्ने गरेको उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्