सर्बियामा विद्यार्थी आन्दोलनले राष्ट्रपति भुसिचलाई कडा चुनौती, चुनावी प्रतिस्पर्धा रोचक बन्दै

बेलग्रेड । सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा लामो समयदेखि शक्तिमा रहेका अलेक्जान्डर भुसिचलाई कडा चुनौती दिएको छ । आइतबार हुने निर्वाचनमा भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) र विद्यार्थी आन्दोलनबाट उदाएको विपक्षी ‘स्टुडेन्ट लिस्ट’ बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

बिबिसिका अनुसार सन् २०१२ देखि सर्बियाको सत्ता राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका भुसिचका लागि विद्यार्थी आन्दोलन अहिलेसम्मकै गम्भीर चुनौती बनेको छ । उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मको जिम्मेवारी सम्हालिसकेका भुसिचले गत महिना आकस्मिक निर्वाचन घोषणा गर्दै प्रधानमन्त्री पदमा फर्कने उद्देश्यले राष्ट्रपतिबाट राजीनामा दिएका थिए ।

frontline

‘स्टुडेन्ट लिस्ट’ झन्डै दुई वर्षदेखि जारी भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको हो । सन् २०२४ मा सर्बियाको दोस्रो ठुलो सहर नोभी सादस्थित रेलवे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएपछि युवाहरूले सरकारविरुद्ध आन्दोलन चर्काएका थिए । उक्त स्टेसनको पुनर्निर्माण भुसिचको प्रमुख पूर्वाधार परियोजनाअन्तर्गत गरिएको थियो । त्यसैले दुर्घटनाको जिम्मेवारीबाट पन्छिन उनलाई कठिन भएको विश्लेषकहरूको भनाइ छ ।

विद्यार्थीहरूले निर्वाचनमा आफैँ उम्मेदवार बन्नुको सट्टा देशका विश्वविद्यालयका विभिन्न संकायमा भएका सभामार्फत २५० जना उम्मेदवार छनोट गरेका छन् । नोभी साद विश्वविद्यालयका प्राध्यापक तथा हृदयरोग विशेषज्ञ इलिया सर्दानोभिच उक्त सूचीको पहिलो उम्मेदवार छन् ।

तर उनी आन्दोलनका औपचारिक नेता होइनन् । विद्यार्थी आन्दोलनले कुनै एक व्यक्तिलाई नेतृत्व नदिई सामूहिक निर्णय र नेतृत्वको अवधारणा अघि सारेको छ ।

‘आफ्ना विद्यार्थीहरूको न्यायपूर्ण संघर्षमा साथ दिनु बिल्कुल स्वाभाविक हो,’ सर्दानोभिच भन्छन् । विद्यार्थीहरूले प्राध्यापक, खेलाडी, अर्थशास्त्री, इन्जिनियरलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । उनीहरूमध्ये कसैको पनि स्थापित राजनीतिक पृष्ठभूमि छैन । आन्दोलनमा सहभागी विद्यार्थीहरूले यसलाई कमजोरी नभई सबल पक्षका रूपमा प्रस्तुत गरेका छन् ।

नोभी साद विश्वविद्यालयकी एक विद्यार्थी अलेक्जान्ड्राका अनुसार उनीहरूले आ–आफ्नो क्षेत्रमा दक्ष व्यक्तिहरूलाई छनोट गरेका छन् । अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुने र नागरिकले असुरक्षित महसुस नगरी जीवन बिताउन पाउने देश निर्माण गर्नु आन्दोलनको साझा लक्ष्य रहेको उनले बताइन् ।

विद्यार्थी आन्दोलन र यसका समर्थकहरूले भुसिचको पार्टीले राज्यका संस्थाहरू तथा सञ्चारमाध्यममा अत्यधिक प्रभाव जमाएको आरोप लगाएका छन् । सन् २०२३ को संसदीय निर्वाचनबारे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण मिसनले पनि सञ्चारमाध्यमको पक्षपात र सरकारी पद तथा स्रोतसाधनको दुरुपयोगका कारण सत्तारूढ दललाई ठुलो लाभ पुगेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here