वीरगन्जको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार सक्रिय

८ वटा वारुणयन्त्रमार्फत पानी वितरण सुरु

समाचार सारांश

  • वीरगन्जमा खानेपानीको समस्या समाधान गर्न मधेस सरकारले पानी वितरण सुरु गरेको छ।
  • मुख्यमन्त्रीका अनुसार, वारुणयन्त्रमार्फत एक पटकमा ४० हजार लिटर पानी आपूर्ति गरिनेछ।
  • नेपाली सेनाले वारुणयन्त्र सञ्चालन गर्नेछ र थप ट्याङ्कर पठाउने तयारी भइरहेको छ।

frontline

वीरगन्ज । वीरगन्जमा खानेपानीको समस्या बल्झिँदै गएपछि मधेस सरकारले आजदेखि पानी वितरणको कार्य सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार मधेस प्रदेश सरकारले आज बिहानदेखि ८ वटा वारुणयन्त्र संकटग्रस्त क्षेत्रमा खटाएको छ।

प्रदेशमा भएको सुक्खा र त्यसबाट उत्पन्न खानेपानीको संकट समाधानका लागि प्रदेश सरकार पूर्णरूपमा तयार रहेको मुख्यमन्त्री सतीश कुमार सिंहले जनाए । मुख्यमन्त्री सिंहले वारुणयन्त्र प्रभावित क्षेत्रतर्फ पठाउँदै भने, ‘खानेपानी समस्या समाधानमा सरकार पूर्ण रूपमा क्रियाशील छ।’

उनका अनुसार वारुणयन्त्रमार्फत एक पटकमा ४० हजार लिटर पानी आपूर्ति गरिनेछ, जसका लागि ५ हजार लिटर क्षमताका ८ वटा वारुणयन्त्र प्रयोग गरिएको छ।

खानेपानी आपूर्ति भइरहेको स्थानमा यी वारुणयन्त्र २४ सैं घण्टा परिचालित रहने मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले भने, ‘सुक्खा र पानी संकटका कारण प्रभावित हरेक नागरिकसँग सरकार साथमा छ, अब तपाईँहरू चिन्ता लिनु पर्दैन ।’

प्रदेश सरकारले व्यवस्थापन गरेको वारुणयन्त्र नेपाली सेनाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ। साथै नेपाली सेनाबाट ७ वटा ट्याङ्कर र थप १ वटा वारुणयन्त्र पठाउने तयारी भइरहेको छ।

यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका ३ वटा ट्याङ्कर परिचालन गरेर पानी आपूर्ति गरिसकेको छ।

#पानी वितरण #खानेपानी #वीरगन्ज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here