माथिल्लो त्रिशूली-१ मा ३९ जनाको शव भेटियो, अझै ४३९ जना बेपत्ता

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा व्यापक क्षति पु¥याएपछि खोज तथा उद्धारका क्रममा यति ठूलो संख्यामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको हो ।

उक्त निर्माणाधीन २१६ मेगावाट क्षमताको आयोजनामा कार्यरत ४३९ जना अझै सम्पर्कविहीन रहेका छन् । आयोजनाको प्रवद्र्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सोमबार विज्ञप्ति जारी गरेर बाढी आएको समयमा कार्यस्थलमा परामर्शदाता, मुख्य निर्माण व्यवसायी र सब–कन्ट्रयाक्टर अन्तर्गतका नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेको जनाएको छ ।

frontline

तीमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आइसकेका छन् । बाँकी सम्पर्कविहीन रहेका ४३९ जनाको खोजी कार्य निरन्तर जारी छ । आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङतर्फ बाढीले ठूला सवारीसाधन तथा ट्रकहरूसमेत पल्टाएको अवस्थामा फेला परेका छन् । सुरुङ, भूमिगत विद्युत्गृह तथा अन्य संरचनाभित्र मानिसहरू पुरिएको हुनसक्ने सम्भावनालाई ध्यानमा राखी भग्नावशेष र लेदो हटाउने काम तीव्र पारिएको छ ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली संयुक्त रूपमा परिचालन भएका छन् । खोजी कार्यका लागि तालिमप्राप्त कुकुर तथा पर्वतारोही उद्धार टोली समेत खटाइएको छ । आयोजनास्थलसम्म पुग्ने सडक सञ्जाल बाढीले पूर्ण रूपमा बगाएपछि हेलिकप्टरमार्फत दुईवटा मिनी एस्काभेटर, जेनेरेटर तथा ग्यास–कटिङ उपकरण ढुवानी गरी भग्नावशेष पन्छाउने र रड काट्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, मैलुङस्थित क्याम्प क्षेत्रमा थुप्रिएको लेदो हटाउने तथा जमेको पानी निकास गर्ने प्रयास जारी छ । बाढीबाट निकालिएका शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित सेनाको क्याम्पमा पु¥याएर आफन्तजनलाई पहिचान तथा सनाखतका लागि सहजीकरण गरिँदैछ ।

कम्पनीले मृतकका परिवारलाई तत्काल काजक्रिया खर्च उपलब्ध गराउनुका साथै सम्पर्कविहीनका परिवारलाई मनोसामाजिक परामर्श र अद्यावधिक सूचना दिने व्यवस्था मिलाएको छ ।

भौगोलिक विकटता, आवास तथा सञ्चारको अभाव, भूमिगत संरचनाभित्रको जोखिम र थप पहिरोको त्रासका बाबजुद उद्धार टोलीले आफ्ना प्रयास जारी राखेको छ । कम्पनीले नेपाल सरकारको गृह मन्त्रालय, ऊर्जा मन्त्रालय तथा ‘वार रुम’सँग निरन्तर समन्वय गर्दै उपलब्ध सम्पूर्ण स्रोत, साधन र प्रविधि परिचालन गरी बेपत्ताहरूको खोजीलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here