बालेनको भारत भ्रमणको बेला दोधारा चाँदनी सुक्खा बन्दरगाह पनि चर्चामा

कुनै समय काठमाडौंमा राजनीति गर्ने नेताहरू भन्थे- दोधरा-चाँदनी महाकाली पारिको नेपाल हो। यहाँका नेपाली ‘नेशनालिटी क्राइसिस’मा छन्। अहिले यो ठाउँको स्थिति फरक छ। यो पालिका भित्री बाटाहरू पिच भएका छन्। आवत-जावत सहज बनेको छ।

यो भन्दा महत्त्वपूर्ण कुरा, महाकाली पारिको नेपाल अर्थात् दोधारा-चाँदनी दुई देशीय व्यापारको हब बन्दै छ। नेपाल-भारत व्यापार प्रवर्द्धनका लागि अति जरुरी मानिने सुक्खा बन्दरगाह यहीँ बनिरहेको छ।

frontline

सुक्खा बन्दरगाह सञ्चालनकै लागि भनेर महाकाली नदीमा चार लेनको पक्की पुल र गड्डाचौकीदेखि मलेरिया नालासम्म ६ लेनको ८ किलोमिटर पहुँच मार्ग बनिसकेको छ।

स्थानीय उद्योगी, व्यापारी यस बन्दरगाहलाई सुदूरपश्चिमको व्यापारिक विकासको नयाँ ढोका भन्न थालेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण नजिक आइरहँदा यो बन्दरगाहको चर्चा फेरि एक पटक बढेको छ। महेन्द्रनगरमा मात्र होइन, संघीय राजधानी काठमाडौंसम्मै।

दोधारा चाँदनी नगरपालिका-१ स्थित मायापुरी सामुदायिक वन क्षेत्रमा बन्दरगाहका संरचना निर्माण भइरहेका छन्। वर्षौँदेखि सुन्दै आएको योजना आफ्नै आँखाअगाडि साकार हुँदै गरेको देख्दा विक्रमबहादुर बममा खुसीसँगै नयाँ आशा पलाएको छ।

‘बन्दरगाह यस क्षेत्रको वर्षौँदेखिको सपना हो। डेढ दशकपछि निर्माण भइरहेको देख्दा निकै खुसी लागेको छ’, बम भन्छन्, ‘यसले व्यापारिक गतिविधि बढाउनेछ। गाउँमै रोजगारीका अवसर सिर्जना हुनेछन्। नयाँ पुस्ताको भविष्य उज्ज्वल बन्ने आशा छ।’

भारतको लगानीमा सुक्खा बन्दरगाह निर्माणको काम भइरहेको छ। २०८२ साउनमा रुख काटेर जग्गा हस्तान्तरण गरेपछि भारतले बन्दरगाह निर्माणको काम सुरु गरेको थियो।

अहिले प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोडअनलोड सेडलगायतको निर्माण कार्य तीव्र गतिमा चलिरहेका छन्। नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रका अनुसार अहिलेसम्म २८ प्रतिशत भौतिक प्रगति भएको छ। 

सुक्खा बन्दरगाह, सुदूर पश्चिमको सपना
भारत सरकारको सहयोगमा निर्माण भइरहेको हुन लागेको सुक्खा बन्दरगाहका लागि भारतकै निर्माण कम्पनी कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारूमा ठेक्का पाएको हो।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुने चर्चा डेढ दशकअघि नै सुनेको बम स्मरण गर्छन्। निर्वाचनका बेला नेताहरूले पनि चर्को रूपमा सुक्खा बन्दरगाहको मुद्दा उठाउँथे। बन्दरगाह बनेपछि यस क्षेत्रको मुहार फेरिने, रोजगारीका अवसर सिर्जना हुने र व्यापार व्यवसाय फस्टाउने उनीहरूको आश्वासन हुन्थ्यो।

वर्षौँसम्म चर्चा भइरह्यो तर निर्माणको कामचाहिँ सुरु नै भएन। बमलाई सुक्खा बन्दरगाह निर्माणको योजना एउटा अधूरो सपनाजस्तै लाग्न थालिसकेको थियो। कहिले जग्गा व्यवस्थापन त कहिले प्रशासनिक प्रक्रियाका कारण आयोजना अनिश्चितजस्तै भइसकेको थियो।

लामो समयदेखि प्रतीक्षामा रहेको आयोजनाको काम अहिले भने तीव्र गतिमा भइरहेको छ। केही वर्षयता भारतीय लगानीमा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेसँगै धमाधम काम हुनथालेको हो।

महाकालीमा ४ लेनको पुल, किनारमा ६ लेनको पहुँचमार्ग
अहिले बन्दरगाह निर्माणको काम धमाधम भइरहेको छ। दोधारा चाँदनीकै पनि ४० जनाले काम गरिरहेका छन्। 

सुक्खा बन्दरगाहका दोधारा चाँदनी नगरपालिका-१ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२.३६ हेक्टर जमिन खाली गरेर दिइएको छ। उक्त वनमा रहेका १ हजार ७०२ रूख कटान गरिएको थियो। अहिले २५.३ हेक्टरमा मात्रै संरचनाहरू निर्माण भइरहेका छन्। 

सुक्खा बन्दरगाह निर्माणकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्व-पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि मलेरिया नालासम्म ६ लेनको ८ किलोमिटर पहुँच मार्ग निर्माण भइसकेको छ। 

भन्सार, सुरक्षा, क्वारेन्टाइन घर र प्रशासन एकैठाउँ
निर्माणाधीन सुक्खा बन्दरगाहलाई सुदूरपश्चिमको व्यापारिक विकासको नयाँ ढोकाका रूपमा यस क्षेत्रका व्यवसायीहरूले हेरेका छन्। भारततर्फ पनि राष्ट्रिय राजमार्गको जोगबुडा क्षेत्रबाट सुक्खा बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण भइरहेको छ।

बन्दरगाहमा भन्सार कार्यालय, प्रशासनिक भवन, गोदाम, सुरक्षा निकायका भवन, क्वारेन्टिन तथा मालसामान व्यवस्थापनका लागि अत्याधुनिक संरचना हुनेछन्।

२०६४ सालमै दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरिएको थियो। सुरुमा दोधारा चाँदनीको कञ्जभोजमा निर्माण गर्ने भनिएको थियो तर प्रक्रियागत र स्थानीयको विरोधपछि जग्गा प्राप्तिमा ढिलाइ भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here