बाढीमा सम्पर्कविहीनहरू अब जीवित भेटिने सम्भावना कम छ: गृहसचिव शर्मा
गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना नरहेको बताएका छन्।
सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहसचिव शर्माले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन्। यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए।
‘खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना अलि कम छ, यद्यपि विपद् विज्ञ म होइन,’ गृहसचिव शर्माले भने, ‘अन्तर्राकष्ट्रिय अभ्यास २१ दिनपछि पनि जीवितै पाइन्छन् भन्ने कुरा छ। अहिले अन्यत्र त हाम्रो त्यस्तो भेटिएको छैन।’
अहिले जलविद्युत आयोजनाका सुरुङमा उद्धारको कार्यलाई जारी रहेको उनले बताए। कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको उनको भनाइ छ।
‘विशेष गरि हाइड्रोपावरको सुरुङहरूमा बस्नु भएकोहरूमा खोज तथा उद्धारको कार्य भइरहेको छ। सबै सुरक्षा निकायका प्रमुखहरू खोज र उद्धारमा खटिनु भएको छ,’ शर्माले भने।
अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए। सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको उनले बताए।
खोज तथा उद्धारको पछि राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको काम अगाडी बढाइने उनले बताए। ‘अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ। यसपछि विस्तारै राहतमा जान्छौँ। त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छन्,’ उनले भने।
उनले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षण स्थानीय तहसँग समन्वयमा भइरहेको पनि जानकारी दिए। बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनले बताए।






प्रतिक्रिया दिनुहोस्