दशकौँसम्म ब्राजिलको वामपन्थी राजनीति हाँकेका लुलाको आन्दोलनले अर्को बोलसोनारोको उदय थेग्न सक्ला ?


ai logo सारांश

  • ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा भ्रष्टाचारको आरोपमा जेल सजाय भोगेको सात वर्षपछि पुनः राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
  • मजदुर नेताको पृष्ठभूमिबाट आएका लुलाले आफ्नो कार्यकालमा सामाजिक कल्याणकारी कार्यक्रमहरू ल्याएर लाखौँ नागरिकलाई गरिबीबाट माथि उठाएका थिए ।
  • यस पटकको चुनावमा लुलाले बैंकिङ काण्ड, आन्तरिक अनुसन्धान र ल्याटिन अमेरिकामा दक्षिणपन्थी लहरजस्ता चुनौतीहरूको सामना गरिरहेका छन् ।

नोभेम्बर ८, २०१९ मा जब लुइज इनासियो लुला डा सिल्भा ब्राजिलको क्युरिटिवास्थित सङ्घीय प्रहरी मुख्यालयबाट बाहिर निस्किए, हजारौँ समर्थकहरू उनको पर्खाइमा थिए । भ्रष्टाचारको आरोपमा ५८० दिन जेल बिताएर रिहा भएका लुलाले आफ्नो राजनीतिक जीवनको सर्वोत्कृष्ट शैलीमा समर्थकहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘उनीहरूले एउटा मानिसलाई थुनेका होइनन्, एउटा विचारलाई मार्ने प्रयास गरेका हुन् । तर विचारलाई कसैले मार्न सक्दैन ।’

त्यसको सात वर्षपछि, करिब ८१ वर्ष पुग्न लागेका लुला पुनः ब्राजिलको राष्ट्रपतिका रूपमा मुलुकको गहिरो राजनीतिक ध्रुवीकरण, नयाँ भ्रष्टाचार अनुसन्धान, अमेरिकासँगको कूटनीतिक तनाव र ल्याटिन अमेरिकामा दक्षिणपन्थी लहरको सामना गरिरहेका छन् । उनी आफ्नो जीवनको सम्भवतः अन्तिम राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धामा छन् । उनको सामना पूर्वराष्ट्रपति जायर बोलसोनारोका जेठा छोरा तथा दक्षिणपन्थी सिनेटर फ्ल्याभियो बोलसोनारोसँग हुँदैछ ।

frontline

अक्टोबरको पहिलो चरणको मतदानमा फ्ल्याभियोले ४७.०३ प्रतिशत मत ल्याउँदा लुला ४५.१६ प्रतिशतमा समेटिएका थिए । आगामी आइतबार हुने दोस्रो चरणको मतदानमा दुवै नेताहरूबिच निकै प्रतिस्पर्धात्मक भिडन्त हुने जनमत सर्वेक्षणहरूले देखाएका छन् ।

मजदुर नेतादेखि देशको सर्वोच्च पदसम्म

सन् १९४५ मा एक गरिब परिवारमा जन्मेका लुलाले जुत्ता पालिस गर्ने कामदेखि कारखानामा मजदुरीसम्म गरे । सन् १९६४ मा कारखानामा काम गर्दा दुर्घटनामा परेर उनले बायाँ हातको कान्छी औँला गुमाएका थिए, जुन पछि उनको मजदुर पहिचानको प्रतीक बन्यो । सन् १९७० को दशकमा उनी एक प्रखर ट्रेड युनियन नेताका रूपमा उदाए ।

सुरुमा राजनीतिमा आउन अनिच्छुक लुलाले सन् १९८० मा वर्कर पार्टी (पिटि) को स्थापना गरे । सन् १९८९, १९९४ र १९९८ का राष्ट्रपति निर्वाचनमा पराजित भएपछि उनले आफ्नो कठोर वामपन्थी विचारधारालाई केही लचिलो बनाए र व्यापारिक क्षेत्रसँग सम्बन्ध विस्तार गरे । अन्ततः सन् २००२ मा उनी पहिलो पटक राष्ट्रपति चुनिए ।

सामाजिक क्रान्ति र भ्रष्टाचारको छाया

सन् २००२ देखि २०१० सम्मको उनको कार्यकालमा ब्राजिलले ठुलो सामाजिक परिवर्तन देख्यो । उनीद्वारा ल्याइएका सामाजिक कल्याणकारी कार्यक्रमहरूका कारण लाखौँ नागरिकहरू गरिबीको रेखाबाट माथि उठे । शिक्षा र रोजगारीमा न्यून आय भएका नागरिकहरूको पहुँच वृद्धि भयो । ब्राजिललाई संयुक्त राष्ट्रसङ्घको भोकमरीको सूचीबाट हटाइयो । उनले ब्रिक्सको स्थापनामा पनि महत्त्वपूर्ण भूमिका खेले । सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले लुलालाई ‘पृथ्वीकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञ’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here