‘कुलिङ पिरियड’को हेरफेर छानबिन गर्न मन्त्री र सभापतिको आग्रह
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको हेरफेरमाथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै मन्त्री गुप्ताले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका हुन् ।
यता प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड राख्न राष्ट्रिय सभालाई अनुरोध गरेका छन् ।समितिले कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति गरे पनि हालै प्रतिनिधि सभाबाट पारित हुँदा निजामती विधेयकमा हेरफेर भएर आएपछि खतिवडाले राष्ट्रिय सभाबाट कुलिङ पिरियड राख्न अनुरोध गरेका हुन् । खतिवडाले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्