काठमाडौँ महानगरमा नयाँ ‘ट्विस्ट’ : नवीन मानन्धर बालेनको कित्तामा
समाचार सारांश
- काठमाडौं महानगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा मेयर र प्रशासकीय अधिकृतबीचको विवाद बढेको छ।
- मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको विवादका कारण बजेट अलपत्र परेको छ, र प्रवक्ता मानन्धरले बालेनलाई साथ दिएका छन्।
- ६ मध्ये ५ महानगरपालिकाले बजेट ल्याए पनि काठमाडौंमा भने बजेट प्रक्रिया नै सुरु हुन सकेको छैन।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक निर्धारित समयमा बजेट ल्याउन नसक्दा आलोचना भइरहेको छ । देशको राजधानी समेत रहेको महानगरपालिकामा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको विवादले बजेट अलपत्र परेको छ ।
मेयर बालेन काठमाडौँ टावरको नक्सा पास विवादमा परेको सरोज गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृत अस्वीकार गर्ने पक्षमा छन् । तर मेयर बालेन बाहेकका अन्य कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत स्वीकार गरेका छन् ।
रास्वपाबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ बाहेक अन्य कार्यपालिका सदस्यहरूले नै प्रमुख प्रशासकीय अधिकृत गुरागाँईलाई पुनः बहाली गर्न सक्रिय भूमिका खेलेका थिए । उक्त समयमा काठमाडौँ १७ का वडाध्यक्ष समेत रहेका महानगर प्रवक्ता नवीन मानन्धर नेतृत्वदायी भूमिका थिए । बालेन अहिले पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ बिदामा बस्न वा सरुवा हुन दबाब सिर्जना गरिरहेका छन् ।
नवीन मानन्धर फेरिए, जनप्रतिनिधि नै अन्योलमा
तर महानगरमा एकाएक नयाँ‘ट्विस्ट’ आएको छ । प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्नुपर्ने माग गर्दै आएका बालेनका पक्षमा प्रवक्ता मानन्धरसहित केही जनप्रतिनिधि खुलेका छन् । मानन्धर पछिल्लो केही समय मेयर बालेनका सबैभन्दा कडा आलोचक बनेका थिए । उनले बालेनलाई विभिन्न आरोप लगाएपछि बालेनले स्पष्टीकरण समेत सोधेका थिए ।
उनलाई सूचना प्रविधि समितिको संयोजकबाट समेत बालेनले हटाएका थिए । उनीसहित चार जनालाई महानगरका समितिको संयोजकको जिम्मेवारीबाट हटाएका मेयरले केही समय अघि मात्रै निर्णय फिर्ता लिएका थिए । तर महानगरका बजेट आउन नसकेको भन्दै उनी प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको ठिक भन्दै जनप्रतिनिधिहरूसँग मानन्धरले संवाद गरिरहेको एक वडाध्यक्षले रातोपाटीलाई जानकारी दिए ।
‘पहिले बालेन ठिक छैन भन्दै हुनुहुन्थ्यो तर अहिले बजेट ल्याउनुपर्छ, बालेनले भनेको मानेरै जाउँ । बरु प्रमुख प्रशासकीय अधिकृतलाई अहिले बिदामा बस्न भनौँ भन्दै भूमिका खेलिरहेका छन्’ ती वडाध्यक्षले भने । अहिले महानगरका राजनीतिक दलबाट जितेका जनप्रतिनिधिबिचमै एक मत बनाउन समेत समस्या भइरहेको उनले बताए ।
बालेन अहिले पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ विनै बैठक राख्ने पक्षमा छन् । अधिकांश जनप्रतिनिधि भने त्यस्तो अवैधानिक बैठकहरू राख्नुहुन्न भन्ने मतमा छन् । तर, मानन्धरसँगै थप एक–दुई जना वडाध्यक्षलाई मेयर बालेनले व्यक्तिगत भेटघाट गरेपछि महानगरमा ‘ट्विस्ट’ आएको हो ।
६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय अर्थात् असार १० मै बजेट ल्याए । तर, काठमाडौँ महानगरपालिमा भने अहिलेसम्म पनि अन्योल कायमै छ । बजेटको प्रक्रिया सुरु गर्न बजेट तर्जुमा तथा कार्यक्रम समिति, नगर प्रमुखको संयोजकत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नुपर्ने हुन्छ । तर अहिलेसम्म प्रक्रिया नै सुरु भएको छैन ।






प्रतिक्रिया दिनुहोस्