अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ
अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन् ।
अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बिबिसिले जनाएको छ । विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका नियमित बनाउन केही समय लाग्ने उनको भनाइ छ ।
शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट हुने उडानमा अस्थायी रोक लगाएपछि हवाई यातायात अस्तव्यस्त बनेको थियो । त्यसबेला आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमान प्रभावित भएका थिए । केही विमानलाई अन्य विमानस्थलमा अवतरण गराइएको थियो भने केही गन्तव्यतर्फ नै अघि बढेका थिए ।






प्रतिक्रिया दिनुहोस्