हितेन्द्रदेव अनुगमनमा पुग्दा चनौली सबस्टेशनका प्रमुख अनुपस्थित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवनमा झण्डै ६ घण्टा रहे तर चनौली सबस्टेशनका प्रमुख राजकुमार श्रेष्ठले भेटेनन् ।

१३ साउन, चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अनुगमनमा पुग्दा चनौली सबस्टेशनका प्रमुख राजकुमार श्रेष्ठ अनुपस्थित भएका छन् ।

frontline

चितवनमा विद्युत आपूर्तिमा समस्या आएपछि शाक्य सोमबार चितवन पुगेका थिए । त्यसक्रममा उनी चनौली सबस्टेशनमा अनुगमनका लागि पुगे तर त्यहाँका प्रमुख श्रेष्ठ अनुपस्थित भए ।

सोमबार बिहान १० बजेतिर भरतपुर सबस्टेशनको अनुगमनपछि शाक्य सवा ११ बजेतिर चनौली पुगेका थिए । तर, कार्यालय प्रमुख श्रेष्ठ भने त्यहाँ उपस्थित नभएको खुलेको छ ।

शाक्यले सबस्टेशनका अन्य इन्जिनियरसँग लोड नाकनाकसम्म आउँदा पनि थाहा नपाउने, डुबेपछि मात्रै होस पाउने भन्दै आक्रोश व्यक्त गरेको थिए । ‘जेठमा काम गर्न भ्याइँदैन भनेपछि वैशाखतिर नै तातेर काम गर्नुपर्ने, ट्रान्सफर्मरको समस्या हुने थिएन, फिडरकै समस्या हो’, शाक्यले कार्यालयका अर्का इन्जिनियरसँग भने, ‘फिडर अर्को ल्याउनेतर्फ ध्यान दिनुपर्दथ्यो, अरु काम छाडेर भए पनि ।’

कार्यालयतर्फबाट भएका समस्या, विद्युत आपूर्तिको समस्याका बारेमा प्राधिकरण प्रमुखलाई ब्रिफिङ्ग गर्नुपर्ने सबस्टेशनका प्रमुख श्रेष्ठ प्राधिकरण प्रमुख आउँदा दिनभर जसो नै आएनन् ।

शाक्य चितवनमा झण्डै ६ घण्टा रहे । तर, श्रेष्ठले भेटेनन् । भरतपुर पुगेका शाक्यलाई लोडसेडिङकै झल्को दिने गरी किन तालिका सार्वजनिक भयो भनेर सोध्दा गलत ढंगले दबाब दिएर तालिका सार्वजनिक गरिएको बताएका थिए ।

सबस्टेशनमा प्राधिकरणका कार्यकारी निर्देशक आउँदा किन बहिष्कार गर्नुभएको भनेर श्रेष्ठसँग बुझ्न खोज्दा उनले आफू कार्यालयभन्दा बाहिर काममा रहेको बताए ।

उनले पूर्वी क्षेत्रमा काममा रहेको र विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय प्रमुख जितेन्द्रकुमार झालाई जानकारी गराएको बताए । ‘झा सरले म यता सम्हाल्छु तपार्इं उता काम गर्नुस् भन्नुभएको थियो’, श्रेष्ठले भने, ‘म नभए पनि सरहरु हुनुहुन्छ भनेर गइनँ ।’

उनले आफूले देवनगर सबस्टेशनमा काम गरेको बताए । श्रेष्ठले पूर्वतर्फ विद्युतको चेकजाँच र मर्मतको कामहरू गरेको दाबी गरे । तर, डिभिजन प्रमुख झाले श्रेष्ठ भने जसरी ‘मैंले सम्हाल्छु तिमी जाऊ’ भनेर आफूले काममा नलगाएको बताए ।

अहिले समस्या देखिएकोले काममा गएको होला भनेर नै आफूले बुझेको झाको भनाइ छ ।

प्राधिरकणका कार्यकारी निर्देशक आउँदा सबैभन्दा आलोचित र समस्याग्रस्त स्टेशनका प्रमुख नहुनु अस्वभाविक देखिएन र भन्ने प्रश्नमा प्राधिकरण डिभिजन प्रमुख झाले भने, ‘अरु सामान्य अवस्थामा तपाईंले भनेको कुरा सही हो तर यतिबेला अलि कठिन अवस्था भएकोले त्यसलाई अरू तरिकाले बुझ्न भएन ।’

चनौली सबस्टेशन |हितेन्द्रदेव शाक्य

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here