सगरमाथा : बढ्दो तापमान, तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै

४ असार, काठमाडौं । यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ‘साउथ कोल ग्लेसीअर’ विगत २५ वर्षमा ५४ मिटर (१८० फिट) घटिसकेको पत्ता लगाएका छन्।

समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुना चाँडो छ।

frontline

बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको मानिएको छ।

अध्ययनमा सहभागी वैज्ञानिकहरूले झन्डै २,००० वर्ष लागेर बनेको बरफ सन् १९९० को दशकयता पग्लिएको पत्ता लगाएका छन्।

उनीहरूले हिमनदीमा रहेको बाक्लो हिउँथुप्रो खिइएको र त्यसको तल अवस्थित “कालो बरफ” बाहिर देखिएकाले घाम पर्दा पग्लिने प्रक्रिया झन् तीव्र भएको बताएका छन्।

प्रमुख शोधकर्तामध्येका एक डा. मारियुस पोटोस्कीका अनुसार अध्ययनको निष्कर्षले “साउथ कोल हिमनदी सम्भवतः मासिने क्रममा रहेको” सङ्केत गरेको बताए। उनका अनुसार यो पहिला अझ चिसो समयको अवशेष भएको हुनसक्छ।

उक्त रिपोर्टका अर्का लेखक तथा किङ्स कलेज लन्डनका जलवायु वैज्ञानिक डा. टम म्याथ्यूजले बरफ ह्वात्तै पग्लिनेगरी उक्त क्षेत्रको मौसममा कुनै पनि परिवर्तन नदेखिएको बताए।

“बरु तापमानमा सामान्य वृद्धिले हिमनदीलाई यस्तो बिन्दुमा पुर्‍याइदिन्छ कि अचानक सबै कुरा परिवर्तन हुन्छ,” उनले भने।

हिमनदी पग्लिएको विषयमा व्यापक रूपमा अध्ययन गरिएको भए पनि यो उचाइमा रहेका हिमनदीहरूमा जलवायु परिवर्तनको प्रभावबारे भने विगतमा अध्ययन गरिएको थिएन।

दश वैज्ञानिक सम्मिलित टोली उक्त हिमनदीमा पुगेको थियो।

त्यहाँ उक्त टोलीले मौसमको अनुगमन गर्ने दुईवटा वेदर मनिटरिङ स्टेशन स्थापना गरेका थिए। ती स्टेशन विश्वमै सबैभन्दा अग्लो स्थानमा स्थापित भएको मानिन्छ।

वैज्ञानिकहरूले हिउँको १० मिटर लामो ‘आइस कोर”बाट नमुनाहरू सङ्कलन गरे।

टोली नेता डा. पोल मायेव्स्कीले उक्त अध्ययनबाट धेरै उचाइमा हुने तुलनात्मक रूपमा साना परिवर्तनप्रति पृथ्वीको संवदेनशीलताबारे पहिला थाहा नभएका कुराहरू पत्ता लागेको बताए।

तीव्र गतिमा बरफ पग्लिँदा “क्षेत्रीय र वैश्विक तहमा” विभिन्न किसिमका महत्त्वपूर्ण प्रभावहरू पर्न सक्ने उनको धारणा छ।

विश्वका झन्डै एक अर्ब मानिस पिउने पानीका लागि हिमपर्वतहरूमा निर्भर छन्।

अनि उक्त क्षेत्रका वा विश्वका विभिन्न स्थानमा अवस्थति अन्य हिमनदीमा सगरमाथामा जसरी नै हिउँ पग्लियो भने पिउन र सिँचाइ गर्नका लागि तिनको पानी उपलब्ध गराउन सक्ने क्षमता व्यापक रूपमा घट्न सक्छ।

हिउँ र बरफको सतह घट्दा पर्वतारोहणमा पनि चुनौती थपिन सक्छ किनभने आरोहीहरूले हिउँले नपुरेका चट्टानको सामना गर्नुपर्ने हुनसक्छ।

त्यसो हुँदा पर्वतारोहण झन् कठिन बन्न सक्छ।

डा. म्याथ्यूजले साउथ कोल हिमनदी “अरू सबै कुरासँग तुलना गर्दा निकै सानो छ।”

“हामीले पत्ता लगाएको संवेदनशीलता कति हदसम्म ‘संसारको छानो’ मा भएको बरफको भण्डारमा लागु हुन्छ भन्ने कुरा अब अनुसन्धानकर्ताहरूले खोज्नुपर्छ,” उनले भने।

गत वर्ष फ्रान्सेली अनुसन्धानकर्ताहरूको टोलीले विश्वभरि हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको निष्कर्ष निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here