रास्वपाभित्रको असन्तुष्टि, गुटबन्दी र हानथापलाई नेतृत्वका लागि भएको झैझगडाले छताछुल्लै
वैकल्पिक राजनीतिको नारा दिँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिखेर आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीमा जुटेको छ । जनताबाट अनुमोदित भएको वर्तमान अवस्थामा असार ७ देखि ९ गतेसम्म चल्ने महाधिवेशनलाई देश, विदेशबाट महत्वाका साथ हेरिएको छ । महाधिवेशनले पार्टीको भावी कार्यदिशा, रणनीति र आफ्नो दृष्टिकोण सार्वजनिक हुने भएकोले पनि सबैको ध्यान महाधिवेशनमा केन्द्रित भएको हो ।
‘पुराना दलहरूले देश विगारे, हामी बनाउछौँ’ भन्दै रास्वपाले गत २१ फागुनको निर्वाचनमा ठूलो जनमत बटुलेको थियो । झण्डै दुई–तिहाइको जनमत पाएपछि रास्वपा यतिबेला उक्त मतलाई संस्थागत गर्ने अभियानमा छ । तर, तल्लो कमिटीका अधिवेशनहरूले रास्वपाभित्रको चरम आन्तरिक असन्तुष्टि, गुटबन्दी र हानाथापलाई नेतृत्वका लागि भएको झैझगडाले छताछुल्लै पारिदिएको छ । जसले पुराना दलको दशकौँ लामो विकृतिलाई रास्वपाले छोटो समयमै माथ खुवाएको आभाष दिलाएको छ ।
गत निर्वाचनमा आफ्ना उम्मेदवार लक्षित ‘जान्नेलाई छान्ने’ नारा तय गरेको रास्वपामा पार्टीभित्र भने पदका लागि गुटगत विवाद र कटुताले भौतिक आक्रमण समेत निम्तिएको छ । प्रदेश, जिल्ला र नगर तहमा आफ्नो पक्षमा नेतृत्व हत्याउन एकले अर्कालाई निषेध गर्दै आक्रमण गर्ने तहसम्म नेता कार्यकर्ताहरू पुगेका छन् । देशका विभिन्न स्थानमा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन)शाह पक्षबीच भएको झडपले पार्टीभित्र गुटगत प्रतिस्पर्धा भुसको आगोझै सल्किरहेको संकेत गर्दछ ।
यसैक्रममा देशभर प्रदेश, जिल्ला र वडा अधिवेशनहरू सकेर रास्वपाको सिंगो पंक्ति चितवनमा केन्द्रित हुँदैछ । तर, रास्वपाको प्रादेशिक र जिल्ला अधिवेशनहरूले देखाएको चित्र भने निकै चुनौतीपूर्ण छ । ती अधिवेशनहरूमा देखिएका दृश्यहरूले रास्वपा पनि पुराना दलहरूको धङधङीबाट बाहिर निस्कन नसकेको स्पष्ट हुन्छ ।
कोशी प्रदेश अधिवेशनबाट फर्किएपछि मोरङ–३ का सांसद गणेश कार्कीले सामाजिक सञ्जालमा लेखेको एक वाक्यले अहिले सत्तारूढ रास्वपा भित्रको वास्तविक अवस्थालाई प्रष्ट ऐना देखाएको छ । उनले लेखेका छन्– ‘चुनावमा प्यानल छैन, राम्रो कुरा हो । तर केही व्यक्तिहरूले उम्मेदवारका लागि भोट माग्दै गरेको देखे ।’ उनको यो टिप्पणीले पार्टीको पहिलो महाधिवेशनअन्तर्गत भइरहेका तहगत अधिवेशनहरूमा व्याप्त अव्यवस्था, गुटबन्दी र व्यवस्थापन संकटलाई उजागर गरेको छ ।
त्यस्तै, रास्वपा सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद खोज्नेहरूको बिगबिगी रहेको भन्दै सार्वजनिक रूपमै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश अधिवेशनमा आचार्यले भनेका थिए– ‘यहाँ त चार वर्षमा मन्त्री पाएन भने पार्टी नै छोडिदिन्छु भन्ने साथीहरूको बिगबिगी छ । अथवा, चार वर्षमा सभापति बन्न पाइन भने सभापति त कामै लाग्दैन, अर्को पार्टीतिर जानुपर्छ कि भन्ने लाग्छ । के यो सही हो र ?’ उनको यो भनाइले रास्वपाभित्र कस्तो पदलोलुपता छ भन्ने प्रष्ट पार्छ ।
रास्वपाले महाधिवेशनका लागि वडा, पालिका, जिल्ला हुँदै प्रदेश तहसम्मका अधिवेशनहरू अधिकांश स्थानमा सम्पन्न भइसकेका छन् । विधानअनुसार ५०० सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था गरेर अधिवेशनहरू सञ्चालन गरिएका थिए । अधिवेशनको समयमा कागजमा व्यवस्थित देखिने यो प्रक्रिया व्यवहारमा भने निकै अस्तव्यस्त बन्न पुग्यो ।
कोशी प्रदेशको अधिवेशनमा बालेन पक्षधर चन्द्र राई सभापतिमा निर्वाचित भएपछि पराजित नेतृ गोमा तामाङ ‘सरिन’ले गुटबन्दी र ‘माथिको ह्विप’को आरोप लगाउँदै राजनीतिबाटै सन्यासको घोषणा गरिन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले लोकतान्त्रिक प्रतिस्पर्धामा हार जित सामान्य भएको उल्लेख गर्दै माथिको ह्वीप भन्दै हराएरै छाडेको आरोप लगाएकी छिन् । उनको यो कदमले पार्टीको केन्द्रीय तहबाटै आफू निकटलाई जिताउन र हराउन तल्लो तहमा हस्तक्षेप भइरहेको प्रष्ट हुन्छ ।
‘लोकतान्त्रिक पद्धतिमा आरजित नौलो होइन, तर यसरी चिटै चोराएर अधिवेशन पास गर्न जानिन आखिर माथिको ह्वीप भन्दै हराएर छाड्यौं । सायद अनेक सेटिङ बनाउन जानिन मैले’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई । यो मेरो सोझो सिधापन आज दुखाई भो सबैलाई, आजबाट राजनीतिक बिट मारे ।’
यसरी अधिवेशन सम्पन्न भएका ठाउँमा गुटगत विवाद सतहमा आएको रास्वपामा मधेश प्रदेशमा भने झनै विावाद बढेको छ । अहिले मधेश प्रदेशमा पर्साबाहेक अन्य कुनै पनि जिल्लामा अधिवेशन हुन सकेको छैन । जिल्ला अधिवेशन नहुँदा प्रदेश अधिवेशन नै अनिश्चितकालका लागि स्थगित गरिएको छ । अहिले रास्वपाभित्र सबैभन्दा बढी विवाद मधेशमा देखिएको छ ।
मधेशमा विवादको मुख्य कारण अमरेशकुमार सिंहको असन्तुष्टिले निम्त्याएको बताइन्छ । उनले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको सचिवालय विरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।
यसअघि कांग्रेस त्यागेर स्वतन्त्रबाटै निर्वाचित भएका सिंह गत फागुन २१ को निर्वाचनको सन्निकट रास्वपामा प्रवेश गरेर सर्लाही ४ मा कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । मधेशमा उनको बलियो पकड रहेको र अधिकांश त्यहाँबाट निर्वाचित सांसद उनकै पक्षमा रहेकाले रवि–बालेन उनलाई आफ्नो पक्षमा ल्याउन भगिरथ प्रयत्न गरिरहेको रास्वपाभित्र चर्चा छ ।
केही दिनअघि रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र प्रमोद न्यौपानेले यही कुरा बुझेर नै मधेश प्रदेशको पार्टी विवाद लक्षित सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनले ‘यसरी चाहिँ बन्दै बन्दैन’ भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । न्यौपानेको उक्त अभिव्यक्ति सरकारको कार्यशैली वा पार्टी नेतृत्वको कार्यशैलीप्रति कटाक्ष भएको धेरैले लख काटे ।
प्रधानमन्त्रीनिकट एक चर्चित कलाकारले न्यौपानेको सोही फेसबुक स्टाटसलाई लक्षित गर्दै उनकै भाषामा जवाफ फर्काए । उनी हुन्, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका निकै निकट मानिने आसिफ शाह, जो बालेनका राजनीतिक सल्लाहकार असिम साहका दाजु समेत हुन् ।
आसिफले सामाजिक सञ्जालमा आफ्नो तस्बिरसहित लेखेका छन्– ‘ढुक्क हुनुस्, बन्ने यसरी नै हो ।’ प्रधानमन्त्री बालेन पक्षधरहरू आफूविरुद्ध खनिन थालेपछि न्यौपानेले स्पष्टीकरण दिएका थिए । उनले उक्त टिप्पणी सरकारको कार्यशैलीप्रति नभई पार्टी अधिवेशनको आन्तरिक अवस्थाप्रति मात्र लक्षित रहेको प्रष्ट पारेका छन् । यद्यपि, आशय चाहिँ प्रष्ट्याएका छैनन् ।
रास्वपाको पहिलो प्रदेश अधिवेशनमा वरिष्ठ नेता बालेन शाह समूहका दुई जना अध्यक्ष निर्वाचित भए । बागमती र कोशी प्रदेशको प्रथम अधिवेशनमा बालेन समूह हाबी देखियो । बागमती प्रदेशबाट उत्सव अर्याल र कोशी प्रदेशबाट चन्द्रबहादुर राई प्रदेश सभापतिमा निर्वाचित भए । उनीहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
‘जान्नेलाई छान्ने’को नाममा पुरानै दलका नेता हाबी
रास्वपा वृत्तमा चुनावताका जान्नेलाई छान्ने भन्ने नारा निकै चर्चित थियो । अहिले महाधिवेशनको तयारीमा रहेको बेला पार्टीमा भने अधिकांश उही पुरानै दलका अनुहार देखिएका छन् । देशका विभिन्न जिल्लाको रास्वपा नेतृत्वमा आएका नेताहरू पुरानै दल परित्याग गरेर पार्टीमा भित्रिएकाहरू नै छन् ।
दुई प्यानलबीच भएको प्रतिस्पर्धामा पुराना दल त्यागेर आएकाहरूले जिल्ला तहको नेतृत्व हत्याएका छन् । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा कांग्रेस परित्याग गरेर आएकी सीता पराजुली रास्वपाको जिल्ला नेतृत्व तहमा पुग्न सफल भएकी छिन् । कांग्रेसको जिल्ला सदस्य परित्याग गरेर रास्वपा प्रवेश गरेकी उनले जिल्ला सभापतिमा विजयी भएकी हुन् ।
त्यस्तै, कोशी प्रदेशको ताप्लेजुङ जिल्ला सभापतिमा निर्वाचित भएका प्रकाश गुरुङ कांग्रेसको पूर्व फिदिम नगर सभापति हुन् । कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका उनी रास्वपाको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी, कांग्रेसको तनहुँ जिल्ला सचिव रहेको विश्वनाथ बास्तोला पनि रास्वपाको जिल्ला सभापति निर्वाचित भएका छन् ।
उता, बागलुङको जिल्ला सभापतिमा पनि गत स्थानीय तहको निर्वाचनमा एमालेबाट टिकट नपाएर बागी उम्मेदवार बनेकी पुनम शर्मा रास्वपाको जिल्ला सभापतिमा निर्वाचित भएकी छिन् । नवलपरासीको रास्वपा सभापति निर्वाचित भएका दोमनबहादुर भण्डारी पनि कांग्रेसकै नगरसभापति रहेका थिए । पार्टीकै वरिष्ठ नेता एवं प्रधानमन्त्री रहेका बालेन्द्र शाहको निर्वाचन क्षेत्र रहेको झापाको सभापतिमा केही समयअघि नेकपा परित्याग गरेका ओम भण्डारी निर्वाचित भएका छन् । यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । देशका अधिकांश जिल्ला, नगर एवं क्षेत्रमा पुरानै दल परित्याग गर्नेहरूकै बर्चस्व रास्वपामा देखिएको छ ।
‘निलो क्रान्ति’ को मान्यतामा ठेस
पहिलो महाधिवेशनका लागि रास्वपाले आफ्नो ‘निलो क्रान्ति’को उद्गमस्थलको रूपमा चितवनलाई रोजेको छ । रवि लामिछानेको संयोजकत्वमा २०७९ साल असार ७ गते रास्वपा स्थापना भएको थियो । र, सभापति रविले संसदीय राजनीतिमा चितवन क्षेत्र नम्बर २ लाई नै आफ्नो मुख्य आधार इलाका बनाएका छन् ।
सोही निर्वाचन क्षेत्रबाट लामिछानेले तीन पटक निर्वाचन जितिसकेका छन् । गत फागुन २१ निर्वाचनमा त चितवनका तीनवटै निर्वाचन क्षेत्र रास्वपाले ‘क्लिन स्विप’ गरेको थियो । बागमती प्रदेशकै कुरा गर्दा रसुवा र सिन्धुपाल्चोक–२ बाहेक सबै क्षेत्र रास्वपाले कब्जा ग¥यो । तुलनात्मक रूपमा कर्णाली प्रदेशमा केही कमजोर देखिए पनि रास्वपाले देशैभर अपेक्षाभन्दा बढी सफलता हासिल ग¥यो ।
रास्वपाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्षयता पहिलो पटक एकल बहुमतको सरकार बनाउने ऐतिहासिक मौका प्राप्त ग¥यो । यी सबै उपलब्धिको पछाडि चितवनसँग भावनात्मक सम्बन्ध जोडिएकाले चितवनमै महाधिवेशन गर्न लागिएको हो । यद्यपि, बागमती र कोशी प्रदेशमा संस्थापन (रवि) समूहलाई धक्का लागेपछि यो क्रान्तिकारी यात्रा अलमलिएको महसुस कार्यकर्ताहरूले गर्न थालेका छन् ।
समन्वयको अभाव
वडा, पालिका, जिल्ला र प्रदेश कमिटीहरूबीच स्पष्ट कार्यविभाजन र जिम्मेवारी निश्चित नगरिँदा अधिवेशनहरू नियन्त्रणबाहिर पुगेका छन् । केन्द्रबाट खटिएका नेताहरू नै गुटमा विभाजित भएर स्थानीय नेतृत्व निर्माणमा सक्रिय देखिँदा समस्या झन् बल्झिएको छ ।
पार्टीभित्र विभिन्न पृष्ठभूमि (जस्तैः बालेन शाह समूह, हाम्रो नेपाल पार्टी, विवेकशील साझा पार्टी र थरूहट÷थारूवान आन्दोलन) बाट आएका नेता–कार्यकर्ताहरूको व्यवस्थापन स्पष्ट नहुँदा अधिवेशन स्थलहरूमै विवाद र कुटाकुटको स्थिति सिर्जना भएको छ । समायोजन समिति गठन गरिए पनि कार्यविधि अस्पष्ट रहँदा ‘खल्तीबाट सूची बोकेर हलमा छिर्ने’ पुराना दलहरूकै प्रवृत्ति यहाँ पनि दोहोरिएको छ ।
पार्टीले सांसदहरूलाई कार्यकारी भूमिकाबाट टाढा राख्ने नीति लिएपनि व्यवहारमा उनीहरू नै पर्दापछाडिबाट नेतृत्व चयनमा सक्रिय छन् । रवि लामिछाने र बालेन शाहका नाममा मत माग्ने प्रवृत्ति मधेशमा बढी देखियो । महोत्तरीमा दुई समूहबीच उग्र झडप भएर अधिवेशन नै स्थगित हुनु, धनुषामा गुटबन्दीको आरोपमा जिल्ला सभापति नै पदमुक्त हुनुले पनि त्यो प्रष्ट पार्छ ।
बढ्दो महत्त्वाकांक्षा
गत फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा मधेश प्रदेशमा रास्वपाले अप्रत्याशित परिणाम हासिल ग¥यो । कुल ३२ सिटमध्ये धनुषा–१ बाहेक ३१ वटै सिट रास्वपाले जित्यो । धनुषा–१ मा रास्वपाका किशोरी साहको उम्मदेवारी निर्वाचन आयोगले खारेज गरेको थियो । साहको उम्मेरदवार खारेज भएपनि दोस्रो हुने नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवको भन्दा झण्डै तेब्बर बढी थियो । यसले पनि मधेशमा रास्वपा र बालेनको क्रेज कस्तो छ भन्ने प्रष्ट हुन्छ ।
तर, यही लोकप्रियताकै कारण रास्वपालाई मधेश प्रदेशमा अधिवेशन सम्पन्न गर्न ठूलो चुनौती खडा भएको छ । यसको पछाडि नेता–कार्यकर्ताहरूको एउटै स्वार्थ लुकेको छ– आगामी स्थानीय तह र प्रदेश सभाको टिकट । गत फागुन २१ को निर्वाचन परिणामलाई हेर्ने हो भने आगामी स्थानीय तह र प्रदेश सभाको चुनावमा रास्वपाको टिकट जसले पाउँछ, उसैले जित्ने निश्चित जस्तै देखिन्छ । त्यसैले, अहिले नै पार्टीको नेतृत्वमा पुग्न सके पछि टिकट लिन सजिलो हुने र आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने ठानेर लुछाचुँडी बढेको हो ।
त्यसमाथि अन्य पार्टीबाट अवसर खोज्दै आएका नवप्रवेशीहरू पनि जसरी भए पनि पद र प्रतिष्ठा हत्याउन चाहन्छन् । विवादको अर्को कारण, हालै पार्टीको केन्द्रीय निर्वाचन आयोगमा हेरफेर भएर आएका केही पदाधिकारीहरूले स्थानीय वस्तुस्थितिको समन्वय नगरी प्रत्येक साना–तिना उजुरीमाथि सिधै निर्णय लाद्न खोज्दा समस्या झन् जटिल बनेको छ ।
पुराना दलहरूको विकृतिविरुद्ध जन्मिएको रास्वपा यसरी आफैँ त्यही विकृतिको दलदलमा फस्नु देश र जनताकै लागि दुर्भाग्यपूर्ण हुनेछ । चितवन महाधिवेशनले यी आन्तरिक रोगहरूको उपचार खोज्न सक्यो भने मात्रै रास्वपाले देशको वैकल्पिक राजनीतिको नेतृत्व गरिरहन सक्नेछ ।






प्रतिक्रिया दिनुहोस्