बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको ७औं मुख्यमन्त्रीको रूपमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका छन्। नवनियुक्त मुख्यमन्त्री थापामगरलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ गरी कुल ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ। राप्रपाले समर्थन जनाएसँगै एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।

एमालेको तर्फबाट मुख्यमन्त्री बनेका थापा यसअघि दुई कार्यकाल स्वास्थ्यमन्त्री भइसकेका छन्। यसअघि गत मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित एमाले प्रदेश सांसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ (जेएन) थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। सहमति हुनुपूर्व पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता भएको थियो। अन्तत :  मुख्यमन्त्रीका दावेदार थपलियालाई पछि पार्दै शक्ति केन्द्रसँग नजिक रहेका थापा पहिलो पटक संसदीय दलको नेता बाहिरबाट बागमतीको मुख्यमन्त्री बन्न सफल भए।

frontline

बागमती प्रदेशसभामा ३६ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। यस्तै नेकपाको २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ। प्रदेशसभामा निर्वाचित १ सय १० जना सदस्यमध्ये ६ जनाले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएकाले हाल प्रदेशसभा १ सय ४ सदस्यीय छ।

पहिलो कार्यकालमा ३ मुख्यमन्त्री

पहिलो मुख्यमन्त्री पौडेल :  प्रदेशसभाको पहिलो कार्यकाल (२०७४–२०७९) मा तीन जनाले मुख्यमन्त्री बन्ने अवसर पाए। २८ माघ २०७४ मा गठित बागमती प्रदेश सरकारको नेतृत्व तत्कालीन नेकपाबाट एमालेका डोरमणि पौडेलले गरेका थिए। १ सय १० सदस्यीय प्रदेशसभामा ८२ सांसदको समर्थन पाएका उनले ७ वटा मन्त्रालय कायम गरेर ३ वर्ष ७ महिना सरकार चलाए। २०७७ फागुनमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा विभाजन भई एमालेका ५९ सांसद रहे। ५६ सांसद भए बहुमत पुग्ने अवस्थामा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बन्दा १३ सांसदले एमाले छाडेका थिए।

दोस्रो मुख्यमन्त्री शाक्य :  एमालेले पार्टी विभाजनबाट हुने क्षति कम गर्न पौडेललाई २ भदौ २०७८ मा राजीनामा गराएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनायो। उनले करिब ६९ दिन सरकारको नेतृत्व गरिन् र विश्वासको मत लिन सक्ने अवस्था नभएपछि राजीनामा दिइन्।

तेस्रो मुख्यमन्त्री पाण्डे :  अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढलेपछि १० कात्तिक २०७८ मा बनेको नयाँ सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे ५९ सांसदको समर्थनसहित ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भए। १४ महिना सरकार चलाएका पाण्डेले गठबन्धनमा भागबन्डा मिलाउन मन्त्रालयको संख्या १४ पुर्‍याएका थिए।

प्रदेशसभाको दोस्रो कार्यकालका मुख्यमन्त्रीहरू
दोस्रो कार्यकाल (२०७९ देखि २०८३ भदौसम्म) को अवधिमा बागमती प्रदेशले चार जना मुख्यमन्त्री पाएको छ–

चौथो मुख्यमन्त्री जम्कट्टेल :  २५ पुस २०७९ मा गठित माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकार तीनपटक फेरबदल भयो र उनले तीन पटक नै विश्वासको मत लिनुपर्‍यो। सुरुमा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा सरकार गठन गरेका उनले सत्ता समीकरण फेरिएपछि १० चैत २०७९ मा कांग्रेससहितको समर्थनमा पुन :  विश्वासको मत लिए। २३ फागुन २०८० मा गठबन्धन भत्किएपछि माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ गठबन्धनबाट जम्कट्टेलकै नेतृत्वमा सरकार बन्यो। तर १७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनेपछि माओवादी केन्द्र सरकारबाट बाहिरियो।

पाँचौं मुख्यमन्त्री लामा  :  साउन २०८१ देखि बागमतीमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बन्यो, जसअनुसार ९ साउन २०८१ मा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बने। बागमतीमा कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो। तर, आव २०८१÷८२ को बजेटमा पार्टीभित्र देखिएको विवादलाई मुद्दा बनाएर उनीविरुद्ध आफ्नै दलका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि लामा पदबाट हट्न बाध्य भए।

छैटौं मुख्यमन्त्री बानियाँ :  बहादुरसिंह लामाविरुद्ध बहुमत सांसद जुटाउँदै तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा इन्द्रबहादुर बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको छैटौं मुख्यमन्त्री बने। बागमतीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने उनी दोस्रो नेता हुन्। झन्डै दुई वर्ष चलेको कांग्रेस–एमाले गठबन्धन सरकारको नेतृत्व गरेका बानियाँले गत भदौ १ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

वडाध्यक्ष भएको ९ वर्षमै थापा बने मुख्यमन्त्री

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २(क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य किरण थापामगर बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्न सफल भएका छन्। प्रदेशसभा सदस्य निर्वाचित भएको करिब ४ वर्षको अवधिमा उनले दुईपटक स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाए। पहिलोपटक बहादुरसिंह लामा नेतृत्वको सरकारमा र पछिल्लोपटक इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा गरी उनले करिब २ वर्ष मन्त्रीको अनुभव गरे। त्यही अनुभवले यतिबेला उनलाई मुख्यमन्त्री बन्ने बाटो खोल्यो।

नेकपा (एमाले) को तर्फबाट मुख्यमन्त्री बनेका थापामगर सूर्यविनायक नगरपालिका–८ का पूर्ववडाध्यक्ष हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीति सुरु गरेका उनी करिब १० वर्षअघि मात्रै एमालेमा प्रवेश गरेका थिए। राप्रपामा रहुँदा खासै चर्चामा नरहेका उनका लागि एमालेमा आएपछि भने अवसरै अवसरको ढोका खुल्यो।

नेपाली राजनीतिमा यति तीव्र गतिमा जिम्मेवारीको उचाइ चुम्ने नेताहरू अपवादमा मात्रै हुन्छन्। एमाले प्रवेश गर्नेबित्तिकै २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवारी पाएर निर्वाचित थापामगरले त्यस लगत्तै २०७९ मा भएको प्रदेशसभाको निर्वाचनमा पनि बाजी मारे। स्थानीय तहको वडाध्यक्षबाट सिधै प्रदेशसभा सदस्य र त्यसपछि मन्त्री र लगत्तै प्रदेशको सर्वोच्च कार्यकारी पद मुख्यमन्त्रीसम्मको उनको यात्रा राजनीतिक वृत्तमा बिरलै पाइने परिघटना हो।

उनी राप्रपामा रहँदा क्षेत्रीय सदस्यसम्म भए। राप्रपामा उनले पाएको अर्को पद भनेको उनी तत्कालीन जिल्ला सभापति सुरेन्द्रप्रताप शाहको स्वकीय सचिव भएका थिए। भक्तपुरको जिल्ला विकास समितिका सभापति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता शाहको संगतबाट किरण थापामगरले शक्तिसँग नजिकिने अवसर पाए। त्यतिबेलै उनले राजनीतिको शक्तिलाई नजिकबाट नियाल्न र अनुभव गर्न पाएका थिए।

राप्रपाबाट एमालेमा आएपछि पनि थापामगरले राप्रपालाई कहिल्यै चिढाएनन्। बरु राप्रपाकै मत उनलाई वडाध्यक्ष र प्रदेशसभा सदस्य निर्वाचित गर्न प्रयोग भएको मानिन्छ। यतिबेला मुख्यमन्त्री बन्नसमेत राप्रपाका प्रदेशसभा सदस्यहरूको साथ, सहयोग र समर्थनले थापामगरसँग राप्रपा दाहिने रहेको भन्नेहरूलाई बल मिलेको मान्न सकिन्छ।

थापामगर राजनीतिमा जस्तै व्यवसायमा पनि सफल छन्। राप्रपा हुँदै उनले विभिन्न व्यवसाय सुरु गरेका थिए। उनले घरजग्गाको कारोबार र निर्माण व्यवसायबाट प्रशस्त सम्पत्ति जोडेका छन्। सूर्यविनायक आशापुरी क्षेत्रमा अझै सयौं रोपनी जग्गा उनी मातहत रहेको उनी निकट स्रोतको भनाइ छ।
पछिल्लो समय भने उनले आफ्नो व्यवसायको जिम्मा आफ्ना दुई भाइ छोरालाई दिएर राजनीतिमा पूर्णकालीन रहेका छन्। पलाँसेस्थित अरनिको हाइवेसँगै रहेको काठमाडौं फन भ्यालीदेखि विभिन्न होटल, रिसोर्ट र डिपार्टमेन्ट स्टोर्समा उनको पारिवारिक लगानी रहेको छ।

सूर्यविनायक–८ सिपाडोलको टौडोल निवासी ५० वर्षीय थापामगरले सरस्वती विद्यागृह भक्तपुरबाट एसएलसी उत्तीर्ण गरेका थिए। एसएलसी उत्तीर्ण भएको लामो अन्तरालमा आइए अध्ययन गरे पनि उनले उच्च शिक्षा अध्ययन भने अघि बढाउन सकेनन्। अध्ययनमा पछि परे पनि व्यवसाय र राजनीतिमा उनले कहिल्यै पछाडि फर्कनु परेको छैन। ५० वर्षीय थापामगर मृदुभाषी छन्। अरूको कुरा सुन्ने, छिटो नरिसाउने र मीठो बोल्ने उनको गुण रहेको छ। यही गुणका कारण उनी नेता–कार्यकर्ताका प्रिय रहेका छन्। नेकपा एमालेमा सचिव महेश बस्नेतका मान्छे भएर भित्रिएका उनलाई बस्नेतको साथ उत्तिकै छ। पार्टी प्रवेश गर्नेबित्तिकै वडाध्यक्षको टिकट र त्यस लगत्तै प्रदेशसभा सदस्यको टिकट उनै बस्नेतको पहलमा उनले पाएका हुन्।

यसपटक मुख्यमन्त्री पदका लागि दलको नेता जेएन थपलियालाई पाखा लगाउँदै थापामगरले सजिलै आफ्नो पोल्टामा पार्न सफल भए। जेन–जी आन्दोलनपछि गुण्डु बसाइँ सरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिव बस्नेतले राजनीतिमा पुनस्र्थापना गर्न गरेको प्रयास र त्यसमा थापामगरको साथले पनि पार्टीमा पहुँच बढाउन मद्दत मिलेको मानिन्छ। थापामगरलाई मुख्यमन्त्री बनाउन नै बागमती प्रदेश सरकारमा एमालेले नेतृत्व लिएको नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता सहमति हुँदाकै बखतदेखि हल्ला चलेको थियो।

पार्टी हैसियतमा भने थापामगर सूर्यविनायक नगर समितिका उपाध्यक्ष मात्र हुन्। उनले गत जिल्ला अधिवेशनमा सूर्यविनायक नगरपालिका प्रमुखसमेत रहेका नेता बासुदेव थापालाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। पार्टीमा वासुदेवलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट नेता मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here