बडीमालिकामा सम्पर्कविहीन भएका युवा मृत फेला
बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका,दैजीका २० वर्षीय मनिष बोहरा त्रिवेणी पाटन नजिकै मृत भेटिएका हुन्।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आइतबार बिहान सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खोजीका लागि खटिएको थियो। खोजी कार्यका क्रममा टोलीले बडीमालिकास्थित त्रिवेणी पाटनको नजिकै युवकलाई मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए।
मृतकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकोप्टरमार्फत सदरमुकाम ल्याउन पहल भइरहेको प्रजिअ रिजालले बताए। यसअघि हिमपातपछि त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई शनिबार दिउँसो हेलिकोप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो।






प्रतिक्रिया दिनुहोस्