पर्यटक भिसामा धर्म प्रचार ! चौबिस कोरियाली नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध
काठमाडौं : गृहमन्त्रालयले धर्म प्रचारमा संलग्न २४ जना दक्षिण कोरियाली नागरिकलाई निष्कासन गरेको छ। उनीहरूलाई मन्त्रालयले नेपाल प्रवेशमा तीन वर्ष प्रतिबन्ध लगाइ निष्कासन गरेको हो। अध्यागमन विभागले गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्दै पक्राउ परेका २४ जना दक्षिण कोरियाका नागरिकलाई असोज २८ गते स्वदेश फिर्ता गरेको हो। निष्काशित हुनेहुरूमा १३ पुरुष र ११ महिला छन्।
उनीहरू चाइना साउदर्न,थाइ एयरवेजबाट दक्षिण कोरिया गएका हुन्। गृहमन्त्रालयले दक्षिण कोरियाली नागरिकहरूले भिसाको दुरुपयोग गरेको र उनीहरूको नेपाल बसाइ शंकास्पद भएको ठहर गर्दै निष्कासन गर्ने निर्णय गरेको हो।
अध्यागमन ऐन/नियमअनुसार उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना समेत गरिएको छ। पर्यटक भिसामा नेपाल आएका २४ जना दक्षिण कोरियाली नागरिक मोरङबाट असोज २३ गते पक्राउ परेका थिए। धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाएको थियो।
सुन्दरहरैँचा नगरपालिका–७ मालती मार्गस्थित नेपाल न्यू कोभेनन्ट कलेजमा धार्मिक प्रशिक्षण तथा कार्यक्रम चलिरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङले पर्यटक भिसामा आएका विदेशीले धार्मिक शिक्षा,तालिम वा प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि भएको सूचना प्राप्त भएपछि निगरानी बढाएको थियो। अनुसन्धानका क्रममा भिसाको उद्देश्यविपरीत काम गरेको देखिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर गएका थिए। लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रको अध्ययन तथा अध्यापन हुँदै आएको छ। उक्त संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्ने बताइएको छ।






प्रतिक्रिया दिनुहोस्