नेपालसँगको सीमा नाका खुलाउन चीनको आनाकानी
काठमाडौँ । भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द भयो । मुस्ताङको कोरला नाका असोज ९ मा परेको पानीले अवरुद्ध भयो । बाँकी रहेको तातोेपानी नाका तत्कालै सञ्चालन गर्ने अवस्थामा चीन देखिएको छैन ।
दसैँको बेला तीन दिनका लागि खुलेको तातोपानी नाका अहिले पुनः बन्द भएको छ । त्यो नाका कहिले खुल्छ भन्ने टुङ्गो छैन । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कोदारी (इको) पहिरो गएको ठाउँमा चिनियाँ पक्षले काम गरिरहेको कारण अहिले नाका सञ्चालनमा नरहेको बताए ।
गत असोज १२ गते परराष्ट्र मन्त्रलायका सहसचिव रामकाजी खड्काको नेतृत्वमा नेपालस्थित चिनियाँ दूतावाससहितको टोलीले सिन्धुपाल्चोकको तातोपानीतर्फको सडक स्थलगत अवलोकन गरेको थियो भने कात्तिक १ गतेदेखि ३ गतेसम्म तीन दिन नाका सञ्चालनमा आएको थियो । त्यसपछि पुनः बन्द भएको छ ।
‘इको पहिरोको कारण सडक अवरुद्ध छ । त्यहाँ काम भइरहेको छ । त्यहाँको काम सकिएपछि सञ्चालनमा आउँछ,’ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने ।
चीन पक्षले सो सडक मर्मत गरिरहेको छ । मर्मतको काम कहिले सकिन्छ भन्ने प्रस्ट नभएको तर नाका खुलाउने पहल नेपालको पक्षबाट भइरहेको जानकारी दिए ।
चीनले यसअघि कोरला नाका सञ्चालनमा आएपछि तातोपानी नाका पनि सञ्चालनमा ल्याउने भन्दै आएको थियो । कोरला नाका सञ्चालनमा आइसके पनि तातोपानी नाका खोल्ने सम्भावना अझै देखिएको छैन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले कोरला नाका सञ्चालनमा रहेको बताए । असोज ९ गते भएको वर्षाका कारण केही समय बन्द रहेको नाका हाल सञ्चालनमा रहेको उनको भनाइ छ । सो नाका हुँदै चीनबाट धमाधम सामान आइरहेको जानकारी दिँदै उनले भन्सारको काममा कुनै रोकावट नरहेको बताए ।
‘सो नाकाबाट अध्यागमनको काम पनि भइरहेको छ, तर जुन रूपमा हुनुपर्ने हो, त्यसरी भएको छैन,’ अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, ‘माथि नाकामै बस्ने अवस्था छैन । त्यहाँ अध्यागमनका लागि चाहिने पूर्वाधार छैन । त्यही भएर त्यसको काम तल लोमानथाङबाट भइरहेको छ ।’
खासमा अध्यागनको मुख्य काम नाकामै हुनुपर्ने हो, तर त्यहाँ न बिजुली छ, न इन्टरनेट छ । त्यही भएर तल कार्यालय राखेर काम भइरहेको उनले बताए । दुवै देशबाट निर्वाध रुपमा मानिस आउजाउ हुनुपर्नेमा कहिलेकाहीँमात्र भइरहेको जानकारी दिँदै उनले त्यसको समाधान उच्च तहबाट हुनुपर्नेमा जोड दिए । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार भएको उनले बताए ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार असोज १२ गते तातोपानी नाकातर्फको सडक अवलोकन गर्दा खासै समस्या देखिएन । यो कुराको जानकारी चीनको तिब्बत स्वायत प्रदेश सरकारलाई पनि गराइएको, तर हालसम्म नाका खुला नभएको ती अधिकारीले बताए ।
उनका अनुसार नाका खुलाउने विषयमा बेइजिङबाट निर्णय आउनुपर्छ, तर बेइजिङले हालसम्म केही भनेको छैन । परराष्ट्र मन्त्रालयले यहाँका चिनियाँ दूतावाससँग निरन्तर छलफल गरिरहेको छ । भोटेकोशी बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि चीनले मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय सीमा बिन्दुको रूपमा सञ्चालन गर्न नेपालसमक्ष प्रस्ताव गरेको छ । सो नाकाबाट चीनबाट एकतर्फी सामानमात्र आइरहेको छ, तर नेपालबाट सामान गइरहेको छैन ।
रसुवागढी र तातोपानीमा प्राकृतिक अवरोध धेरै भइरहने भएकाले चीनले मुस्ताङको कोरला नाकालाई विकल्पका रूपमा अघि सार्न चाहेको स्रोतहरूको भनाइ छ । नेपाल सकारात्मक नभएका कारण अन्य नाका खोल्ने विषयमा आनाकानी भइरहेको छ ।
पूर्वाधार विकासमन्त्री सुुनिल लम्सालले पनि केही समय पहिले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङलाई बोलाएर नाका खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पनि राजदूत माओमिङलाई बोलाएर छलफल गरेका थिए । सोही छलफलका कारण तीन दिन नाका खुला गरेको थियो । मन्त्री साहले सो नाका खुलाउन अझै पहल गरिरहेका छन् ।
उद्योग मन्त्रालय स्रोतका अनुसार चीनले द्विपक्षीय नेपाल–चीन भन्सार व्यवस्थापन सहयोग समिति गठन गर्न प्रस्ताव गरेको छ । यो समिति गठनका लागि नेपाल–चीनबिच सन् २०१२ मा एउटा सम्झौता भएको थियो, तर कार्यान्वय भएको थिएन । अहिले नाका सञ्चालनमा ढिलासुस्ती भइरहेको कारण चीनको आलोचना भएपछि उसले सो समिति कार्यान्वयनका लागि मस्यौदा प्रस्ताव गरेको मन्त्रालय स्रोतले जनाएको छ । सो प्रस्तावलाई नेपालले अध्ययन गरिरहेको छ । सहमति भएपछि दुई पक्षबिच हस्ताक्षर हुने बताइएको छ ।
भूराजनीति जे–जस्तो भए पनि तातोपानीतर्फको अरनिको राजमार्गमा पनि पहिरोका कारण सडक भासिएकाले चिनियाँ पक्षले भौगोलिक र प्राविधिक सुरक्षाको कारण देखाउँदै आएको छ । नेपालले त्यो ठुलो समस्या नरहेको भन्दै आएको छ ।
चीनको लागि नेपालसँगको सीमा सुरक्षा अत्यन्तै संवेदनशील विषय हो । विशेषगरी तिब्बतको सुरक्षालाई लिएर चीन सधैँ चिन्तित रहन्छ । नेपालमा तिब्बतलाई लिएर भइरहेको चिनियाँ गतिविधिका कारण चीन चिन्तित छ । यो कुराको जानकारी चीनले नेपाललाई पटक–पटक गराउँदै आएको छ ।
तिब्बतलाई लिएर पछिल्लो समय नेपालमा भइरहेको गतिविधिप्रति चीनले आपत्ति जनाउँदै आएको छ । त्यही कारणले नाकाहरू सहज रूपमा खोल्न नचाहेको कूटनीतिक मामिलाका जानकार बताउँछन् । नेपालको बाटो भएर तिब्बती शरणार्थीहरू आवतजावत गर्न सक्ने र सीमा क्षेत्रमा चीन विरोधी गतिविधि हुन सक्ने आशंकामा चीनले सीमा क्षेत्रमा कडा निगरानी राख्ने गरेको छ । यही सुरक्षा संवेदनशीलताका कारण चीनले मानिसहरूको आउजाउ र खुला सीमा गतिविधिमा कडा नियन्त्रण गर्न चाहेकाले उत्तरी सीमा नाका सहज हुन नसकेको उनीहरूको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्