नेपालतिर सोझिँदै ‘अर्णव’ चक्रवात
चक्रवातको प्रभावले बिहीबार रातिदेखि नेपालका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।
काठमाडौं : दसैं मनाएर घर फर्किने र यात्रा गर्नेहरूको योजनामा ‘अर्णव’ चक्रवातले बाधा पुर्याउने भएको छ। बंगालको खाडीमा विकसित भई शक्तिशाली बन्दै गएको यस चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा रहेको चक्रवात ‘अर्णव’ थप शक्तिशाली बन्दै गएको जानकारी दिएको छ।‘अर्णव’ चक्रवात यतिबेला उत्तरपश्चिम दिशातर्फ अगाडि बढिरहेको छ। यसको प्रभाव नेपालमा बुधबारदेखि सुरु हुनेछ। विभागका अनुसार चक्रवातले मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा गराउने सम्भावना भएकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान सुझाव दिएको छ। भारी वर्षाले बाढी–पहिरोको सम्भावना पनि उत्तिकै रहेकाले यात्रा गर्नेहरूले पनि सचेत बन्नुपर्नेछ। ‘अर्णव’ चक्रवात ११ कात्तिकमा आन्ध्र प्रदेशको बापट्ला तट हुँदै विशाखापटनम र यानम नजिकैको तटीय क्षेत्रमा थप शक्तिशाली बन्दै जमिनमा प्रवेश गर्ने देखिएको छ।
जसका कारण हिमआँधी, हिमपात, हिमपहिरोको पनि जोखिम बढाएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार काठमाडौंमा पनि वर्षाको सम्भावना छ। साथै, दसैं अगाडिमात्रै आकस्मिक बाढीको जोखिममा परेको मनाङलाई अझ विशेष ध्यान दिनुपर्ने देखिएको छ।






प्रतिक्रिया दिनुहोस्