दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ।
गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए। तीन जना बेपत्ता भएका थिए।
बेपत्तामध्ये खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का ३० वर्षीय हरि पुर्कोटीको शव उदयपुरको कटारी नगरपालिका–१४ घारलेस्थित सुनकोसी नदीमा फेला परेको हो।
सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित स्नानघाट नजिक सुनकोसी नदीको बीच भागमा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।
प्रहरीका अनुसार दुवै शव कात्तिक ८ गते आइतबार फेला परेका हुन्।
हरिको शव उनका काका तेजकुमार पुर्कोटी र अप्सराको शव उनका काका धनेन्द्र राईले बुझेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ लगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका गाडी चालकको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईलाई पनि गम्भीर अवस्थामा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। अन्य दुई जना घाइते उपचारपछि डिस्चार्ज हुने क्रममा छन्।
दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेसँगै अब एक जना अझै बेपत्ता छन्।






प्रतिक्रिया दिनुहोस्