दिल्लीमा थप चर्किंदै आन्दोलन, ममता बनर्जीसहित तीन पूर्वमुख्यमन्त्री पक्राउ
दिल्लीमा शनिबार ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यसअघि जन्तर मन्तरनजिकैबाट झन्डै हजार जना सीजेपी समर्थकलाई पक्राउ गरिसकिएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ।
यस्तै सीजेपीका संस्थापक अभिजित दीपके, आशुतोष रान्का र सौरभ दासलाई दिल्ली विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरिएको छ भने युट्युबर ध्रुव राठीलाई पनि उनको गुरुग्राम घरबाटै प्रहरीले हिरासतमा लिएको छ।
यस क्रममा केही पत्रकारलाई समेत प्रहरीले पक्रेको छ।
जन्तर मन्तर पुग्ने प्रयास गरिरहेका प्रदर्शनकारीलाई रोक्न ब्यारिकेड लगाइएको थियो। सवारीसाधन रोक्न सडकमा किला गाडिएका छन्। केही प्रदर्शनकारीले ब्यारिकेड पनि तोडेका छन्।
भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच पार्टीले राजधानी दिल्लीका जन्तरमन्तर र कनट प्लेसमा बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।
आन्दोलन थप चर्किंदै गएको छ। ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भइरहेको रिपोर्ट भारतीय सञ्चारमाध्यमले गरिरहेका छन्।






प्रतिक्रिया दिनुहोस्