सडक भासिएको मौकामा यात्रु ठगिन थाले, ट्राफिक र प्रशासन मूकदर्शक बनेको गुनासो
धादिङ : धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन्।
सवारीसाधनको लाइन र व्यवस्थापन अस्तव्यस्त हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। यस्तो अवस्थामा ट्राफिक प्रहरी र प्रशासनले प्रभावकारी नियमन गर्न नसकेको यात्रुहरूको गुनासो छ। यात्रु श्रीराम ठाकुरका अनुसार माइक्रोबसलगायत अन्य सवारीसाधनको व्यवस्थापन फितलो छ। यात्रु लैजाने विषयमा सवारीसाधनबीच तँछाडमछाड हुने र बीच सडकमा अव्यवस्थित रूपमा सवारी रोकिँदा यात्रुले सास्ती खेप्नुपरेको छ।
उनका अनुसार गलौंदीबाट काठमाडौं फर्किन ५०० रुपैयाँ र नारायणगढ जान ६०० देखि ७०० रुपैयाँसम्म भाडा तिर्नुपरेको छ। सडक अवरुद्ध भएको मौका छोपेर यात्रुसँग मनपरी भाडा असुलिएको उनको गुनासो छ।
स्थानीय उमेश बीकेले पनि धादिङको ट्राफिक प्रहरीको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार ट्राफिक प्रहरीको कामकारबाही फितलो देखिएको छ। सवारीसाधनको चाबी खोस्नेलगायतका गतिविधि र यात्रुसँग बोल्ने शैलीसमेत उचित नभएको उनको आरोप छ। ‘यस्तो अवस्थामा प्रशासन कहाँ छ ? ट्राफिक प्रहरीले के हेरेर बसेको छ? यात्रुको समस्या कसले हेर्ने हो?’ यात्रुहरूले प्रश्न गरेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले आफू स्वयं फिल्डमा खटिएर अवस्थाबारे बुझिरहेको बताएका छन्। बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने उनको भनाइ छ। दशैंको मुखमा सडक अवरुद्ध हुँदा घर जाने यात्रुहरू थप मारमा परेका छन्। सडकको समस्या एकातिर छ भने अर्कोतिर सवारीसाधनको अव्यवस्थित सञ्चालन र महँगो भाडाको गुनासोले यात्रुको यात्रा झन् कष्टकर बनेको छ।
यस्तो अवस्थामा ट्राफिक प्रहरी र प्रशासनले सवारीसाधनको लाइन व्यवस्थापन, भाडा अनुगमन र यात्रुमैत्री व्यवहारमा ध्यान दिनुपर्ने देखिन्छ। प्रहरी प्रमुखले कारबाही गर्ने बताए पनि यात्रुले भोगिरहेका समस्या तत्काल समाधान हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न भने बाँकी छ।






प्रतिक्रिया दिनुहोस्