चक्रे मिलनको बयान– एमालेको सदस्य हुँ, धाक धम्की दिने काम मबाट भएको छैन

 समाचार सारांश

  • गुण्डागर्दीमा संलग्नताको आरोपमा पक्राउ परेका चक्रे मिलनले आफू एमालेको पार्टी सदस्य भएको बताएका छन्।
  • उनले आफू गोरखा जिल्ला पार्टीको सदस्यको रूपमा सामाजिक सेवामा सक्रिय रहेको र पार्टीका कार्यक्रममा सहभागी हुने गरेको बताए।
  • चक्रेले साम्बाला होटलमा जन्मदिन मनाउने क्रममा प्रहरीसँग सामान्य भनाभन मात्र भएको र कुनै अभद्र व्यवहार नगरेको दाबी गरे।

काठमाडौँ । गुण्डागर्दीमा संलग्न आराेपमा पक्राउ परेका चक्रे मिलन ‘मिलन गुरुङ’ ले आफू नेकपा (एमाले)को पार्टी सदस्यको रूपमा काम गरिरहेको बताएका छन् । साउन १५ मा साम्बाला होटलबाट पक्राउ परेका चक्रेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा आफू नेकपा (एमाले)को गोरखा जिल्ला पार्टीको सदस्य भएर सामाजिक सेवामा सक्रिय रहेको बयान दिएका हुन् । बयानमा उनले भनेका छन्, ‘पार्टीगत रूपमा आयोजित विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आएको छु ।’

frontline

चक्रेले आफू केही वर्षदेखि सामाजिक सेवा र राजनीतिक पार्टीमा आबद्ध भएर समाजसेवा गर्दै आएको जिकिर गरेका छन् । साम्बला होटलमा आफ्नो जन्मदिन मनाउन अरू युवाहरू भेला भएको उनले बताएका छन् । ‘साम्बाला होटलमा मेरो जन्मदिन मनाउने क्रममा प्रहरी आएपछि हामीहरू मध्ये केही भाइहरूको प्रहरीसँग सामान्य भनाभन मात्र हुन पुगेको हो’ चक्रेले बयानमा भनेका छन्, ‘तर, हामीले कुनै किसिमको अभद्रजन्य व्यवहार गरेको छैन, थिएन ।’

अनुसन्धान अधिकृतहरुले प्रतिवेदनमा उल्लेख गरेजस्तो धारिलो तथा जोखिमयुक्त हतियार आफ्नो समूहले प्रदर्शन नगरेको चक्रेले बताएका छन् । बयानमा उनले भनेका छन्– ‘हतियार प्रदर्शन गरेर सार्वजनिक ठाउँमा स्थानीयलाई गाली गलौज गर्ने, डर धाक धम्की दिने लगायतको कार्य मबाट भएको गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here