कांग्रेस उपसभापतिमा ‘हेभिवेट’को भिडन्त, गगनको हस्तक्षेप नभए महामन्त्रीमा ‘चमत्कार’को सम्भावना
नेपाली कांग्रेसका १५ औँ महाधिवेशनमा हेभिवेट नेताहरू उपसभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन्। सभापतिमा गगन थापाविरुद्ध पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिँदा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्।
सभापतिमा राठौर र खड्गीको उम्मेदवारी रहे पनि थापा निर्वाचित हुने निश्चित छ। निवर्तमान सभापति शेरबहादुर देउवाको असहमतिका बाबजुद गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्व हत्याएका थापाविरुद्ध राठौर र खड्गीको उम्मेदवारी राजनीतिक उपस्थिति जस्तो मात्र देखिन्छ। १५ औँ महाधिवेशनमा सभापति लड्ने लामो तयारी गरेका नेता शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काले महाधिवेशन बहिष्कार गरेपछि थापा बिनाचुनौती सभापतिमा दोहोरिने पक्का भयो।
महाधिवेशन बाहिर रहेका पूर्वउपसभापति खड्काले आफ्नो टिमलाई अहिले थापाकै नेतृत्वमा व्यवस्थापन गर्न खोजेको चर्चा कांग्रेस वृत्तमा छ। कांग्रेसमा बलियो सांगठनिक पकड भएका बालकृष्ण खाँण पनि आफू निकट नेताको व्यवस्थापनमै व्यस्त देखिए। भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि खाँणको राजनीतिक यात्रामा ब्रेक लागे पनि उनले आफू निकट नेताको व्यवस्थापनका लागि थापासँग डिल गरिरहेको बुझिएको छ।
खड्का र खाँणका साझा मानिने नेताहरू सुरेन्द्र पाण्डे, रामहरि खतिवडा, महेन्द्र यादव, जीवन शाही लगायत पदाधिकारीका उम्मेदवार छन्।
महाधिवेशनमा सहभागी प्रभावशाली मानिने अधिकांश नेताले पनि थापाविरुद्ध छुट्टै टिम खडा गरेर जानेभन्दा उनकै सद्भाव पाउने आशामा उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिएका छन्। १४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित धनराज गुरुङ, उपसभापतिका प्रत्यासी डा चन्द्र भण्डारी, महामन्त्रीका प्रत्यासी डा मिनेन्द्र रिजाल उपसभापतिको उम्मेदवार बने।






प्रतिक्रिया दिनुहोस्