विकटता पन्छाउँदै विकासको बाटोमा अघि बढ्दै बाजुराको हिमाली गाउँपालिका

गोविन्द्र राज तिमिल्सेना, बाजुरा

बाजुरा । पहिले दुर्गम, पहुँचविहीन र विकासको लहरबाट टाढा रहेको बाजुराको हिमाली गाउँपालिका आज विकास र समृद्धिको उदाहरण बन्न पुगेको छ । हिमाली गाउँपालिकाले पछिल्लो समय विकटताको पर्खाल तोड्दै समग्र रूपमै रूपान्तरणको यात्रा अघि बढाएको छ ।

frontline

अब गाउँका बासिन्दाले सडक, बिजुली, खानेपानी, इन्टरनेट, स्वास्थ्य, शिक्षा र कृषि जस्ता पूर्वाधारहरूको सेवा घर–दैलोमै पाउन थालेका छन् । स्थानीयहरूले विकासको प्रत्यक्ष अनुभूति गर्न थालेका छन् । पहिले हिँडेर दिनभर लाग्ने बाटो अहिले मोटरबाटोले जोडिएको छ ।

गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा सडक सञ्जाल पुगेको छ भने बाँकी १, २ र ३ वडामा पनि सडक विस्तारका काम तीव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।

उनका अनुसार ‘उज्यालो हिमाली’ अभियानअन्तर्गत कादुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा विजुली उत्पादन गरिएको छ । जसले अधिकांश वडामा घर–घरमा बत्ती बाल्ने सपना साकार गरेको छ । अहिले क्युडी गाउँबाहेक सबै वडामा बिजुली पुगेको छ । सञ्चार पहुँचमा पनि ठूलो सुधार आएको छ, समग्रमा पालिकामा पछिल्लो समय विकासले राम्रो गति लिएको अध्यक्ष मल्ले सुनाए ।

सबै ७ वडामा इन्टरनेट सेवा विस्तार भएको छ र करिब १३–१४ वटा स्वास्थ्य चौकीहरूमा पनि फोरजी इन्टरनेट सेवा जडान गरिएको छ । हिमाली गाउँपालिकाले प्राङ्गारिक र व्यवसायिक कृषि विकासमा विशेष जोड दिएको छ । ६० हजारभन्दा बढी बिरुवा रोपिएको मध्ये ३३ हजार बोटले फल दिन सुरु गरेका छन् ।

स्याउ, दाँते ओखर, कागती र अनारजस्ता नगदे बाली खेतीको विस्तार भएको छ । कृषकका उत्पादन बजारसम्म पुगोस् भनेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । साथै, उत्पादनको प्रशोधन र बजारिकरणका लागि २०० टन क्षमताको शीत भण्डारण गृह निर्माण गरिएको छ ।

स्वास्थ्य र शिक्षा सेवाको पहुँच पनि उल्लेखनीय रूपमा सुधारिएको छ । गाउँपालिकाभर १३–१४ वटा स्वास्थ्य चौकीहरू स्थापना भएका छन् । जसबाट गर्भवती महिला, बालबालिका र वृद्धहरूले गाउँमै उपचार सेवा पाउन थालेका छन् । उपाध्यक्ष राजकला सार्कीका अनुसार गाउँपालिकाको शिक्षा र स्वास्थ्य सेवा दुबै क्षेत्रमा गुणस्तर सुधार भइरहेको छ ।

खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि धिम रुम्दी लगायतका स्थानमा आयोजना सञ्चालन गरिएको छ । जसले स्थानीयको घण्टौँ पैदल हिँडेर पानी ल्याउने बाध्यता अन्त्य गरेको छ । साथै, रमणीय प्राकृतिक सौन्दर्य र हिमाली वातावरणका कारण यहाँ पर्यटन प्रवद्र्धनका प्रयास पनि भइरहेको छ ।

वडा नम्बर ५ का स्थानीय बिर्ख मलाल भन्छन्, “पहिले गाउँमा कुनै सुविधा थिएन, अहिले भने सबै सेवा गाउँमै उपलब्ध छ। विकासको अनुभूति अब गाउँमै पाइन्छ ।” बाजुराको हिमाली गाउँपालिका आज संघीयताको सफल अभ्यासको जीवित नमूना बन्दै, विकटतालाई पन्छाउँदै समृद्धिको बाटोमा दृढताका साथ अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here