अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दायर

समाचार सारांश

  • अनलाइन सञ्चारमाध्यमको दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत गर्नुपर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ।
  • रिटमा प्रेस स्वतन्त्रता र सूचनाको हकमा अतिक्रमण भएको र अनलाइन पत्रिकाको दर्ता स्थगित गर्ने निर्णय बदर गर्न माग गरिएको छ।
  • सर्वोच्चले साउन २७ गते यस मुद्दाको प्रारम्भिक सुनुवाइ गर्नेछ, जसमा विभिन्न सरकारी निकायलाई विपक्षी बनाइएको छ।

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

frontline

अधिवक्ता अनिल आचार्य, ‘कानुन खबर’का प्रधान सम्पादक सुमन कुमार लुइँटेल, र ‘बिड मिडिया’का अध्यक्ष विकल गिरीले संयुक्त रूपमा दायर गरेको रिटमा २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित ‘नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) खारेज गर्न माग गरिएको छ ।

यस मुद्दाको प्रारम्भिक सुनुवाइका लागि २०८२ साउन २७ गते पेसी तोकिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, सङ्घीय संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई विपक्षी बनाइएको छ ।

रिटमा भनिएको छ–  ‘कि संशोधित दफाले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणको अधिकार जिल्ला प्रशासन कार्यालयमा सीमित गरेको छ, जसले संविधानको धारा १७ (२) (क) र १९ मा प्रदत्त प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा प्रत्यक्ष अतिक्रमण गर्छ ।

निवेदकहरूले संशोधनकै आधारमा सूचना तथा प्रसारण विभागले २०८२ साउन २० गते जारी गरेको पत्रद्वारा अनलाइन पत्रिका दर्ता तथा नवीकरणको कार्य स्थगित गर्ने निर्णय पनि बदर गर्न माग गरेका छन् । रिट अनुसार, सो निर्णयले सञ्चारमाध्यमको स्वतन्त्रता मात्र होइन व्यावसायिक गतिविधि, रोजगारी र जनतालाई समयमै सूचना उपलब्ध गराउने अधिकारसमेत प्रभावित गरेको छ ।

निवेदकहरूले अदालतसँग तत्काल परमादेश जारी गरी दफा ७ (ख) खारेज गर्न, अनलाइन दर्ता स्थगनको निर्णय बदर गर्न र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको पूर्ववत् व्यवस्था कायम राख्न आदेश दिन माग गरेका छन् ।

अनलाइन सञ्चारमाध्यम |सर्वोच्च |रिट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here