मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
  • संगठनहरूले विधेयकका प्रावधान सरकार नियन्त्रित र प्रेस स्वतन्त्रता संकुचन गर्ने बताउँदै संशोधन माग गरेका छन्।
  • उनीहरूले सरकार, संसद र सम्बन्धित पक्षसँग छलफल गरी माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका छन्।

frontline

२५ साउन, काठमाडौं। पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले संयुक्त प्रेस वक्तव्य निकालेर यस्तो चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान र छापाखाना तथा प्रकाशन ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी बनेको नयाँ व्यवस्थाबारे गम्भीर ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ ।

प्रतिनिधिसभाको विषयगत समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान सरकार नियन्त्रित र प्रतिगामी रहेको उनीहरूको निष्कर्ष छ ।

‘यसले पूर्ण प्रेस स्वतन्त्रतालाई संकुचन गरेको छ। प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति २०७३, आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव र सरोकारवाला पक्षसँगको समझदारीबमोजिम विधेयक संशोधन गरेर स्वतन्त्र, स्वायत्त र सक्षम मिडिया काउन्सिल स्थापना गरिनुपर्छ’ वक्तव्यमा भनिएको छ, ‘सरोकारवाला पक्षसंग पर्याप्त छलफल र समझदारी गरी आवश्यक संशोधन गरेर मात्र विधेयक अगाडि बढाइनुपर्छ।’

सरकारले एकपछि अर्को प्रेस स्वतन्त्रता विरोधी कार्य गर्दै आएको दाबी गर्दै उनीहरूले मिडिया काउन्सिल विधेयक र अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थाले सरकारको प्रेसप्रतिको अनुदारता र प्रेस स्वतन्त्रता विरोधी रवैयाको पुष्टि गरेको बताएका छन् ।

‘हाम्रा साझा धारणा तथा मागको यथाशक्य छिटो सम्बोधन गर्न सरकार, संसद र सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं। सरोकारवालासँगको छलफलसहित हाम्रा माग सम्बोधनका लागि तत्परता नदेखाइए चरणबद्ध आन्दोलनमा जाने घोषणा गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति : 

प्रेस सेन्टर नेपालमिडिया काउन्सिल विधेयक

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here